७ असार २०७७, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ७ असार । नेपाली काँग्रेस पर्साले अंगीकृत नागरिकता ऐन संशोधन विधेयकको विरोधमा वीरगन्जमा प्रदर्शन गरेको छ ।

नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिला (बुहारी)लाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने नेकपाले गरेको निर्णयको विरोध गर्दै नेपाली काँग्रेसका भातृ संगठन महिला संघका महिला पदाधिकारीहरुले वीरगन्जको घण्टाघरस्थित प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘महिलाको अधिकार खोस्न पाइँदैन, कम्युनिष्ट सरकार चाँहिदैन, ओलीको बोली महिलाहरुको लागि गोली तर विद्याको लागि चोली, महिलालाई हेप्न पाइँदैन ह’त्यारा सरकार चाँहिदैन, जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभूमिको रक्षा गर्न सक्दैन, महिला एकता जिन्दावाद भ्रष्टाचारी सरकार मुर्दावाद, महिलाको अंगिकृत नागरिकता सम्बन्धी निर्णय खारेज गर, महिला अधिकार सुनिश्चित गर’लगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।

नेपाली काँग्रेसका जिल्ला अध्यक्ष अजय द्विवेदीको नेतृत्वमा निकालिएको विरोध प्रदर्शनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य अजय चौरसियाले केपी ओलीको कम्युनिष्ट सरकारले नेपाल–भारत बन्नुभन्दा पहिलादेखि चल्दै आएको रोटी–भेटी तथा साँस्कृतिक सम्बन्धलाई निस्तेज पार्नका लागि यो चलखेल सुरु गरेको आरोप लगाए ।

उनले वर्तमान सरकारले मुलुकमा संसदीय प्रणालीलाई लत्याएर कम्युनिष्ट शासन लाद्ने प्रयास गरिरहेको भन्दै पञ्चायतकालदेखि नै चल्दै आएको नागरिकता सम्बन्धी ऐनलाई सखाप पार्ने काम भइरहेको बताए ।

त्यस्तै, उनले २०४६ सालपछि लोकतान्त्रिक व्यवस्थामा नै अन्य मुलुकबाट नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई आउने वित्तिकै नागरिकता दिने प्रावधान रहेको बताए ।

तर, वर्तमान अवस्थाको अन्तरिम संविधानमा पनि उक्त व्यवस्था लागू रहेकोमा दुई तिहाईको सरकार बनाएर भारत तथा अन्य देशबाट विवाह गरेर आउने बुहारीहरुलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय विदेशी बुहारीहरुको विरुद्धमा रहेको पनि उनको भनाइ छ ।

नेता चौरसियाले नेपाल–भारत सीमाको प्रसङ्गमा बोल्दै तराई मधेशमा कुनै किसिमको सीमा विवाद नरहेको स्पष्ट पारे ।

विरोध प्रदर्शनमा पार्टीका नेतृ तथा वीरगन्ज महानगरपालिकाकी उपमेयर सुश्री शान्ति कार्की, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालगायत पार्टीका नेता कार्यकर्ता एवं महिला नेतृहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV