७ असार २०७७, आईतवार
  • भगतराम थारु

बाँके, ७ असार । ‘राष्ट्रिय गौरव’काे आयोजना सिक्टा सिचाइँको नहरमा २ महिनादेखि पानी आउन थालेपछि किसानहरु हर्षित भएका छन् । यो वर्ष चैतेखेती र समयमै असारे धान राेप्न पाएकोले किसान खुसी भएका हुन् ।

विगत २०३२ सालदेखि अनुसन्धान शुरु भएको सिक्टा सिचाइँकाे २०६०-०६५ साल देखि निर्माण शुरु भएको थियो । ठूलो आयोजना भएको हुनाले धेरै समय लागेको तर हालसम्म ६० प्रतिशत काम भैसकेको आयोजनाले जनाएको छ ।

आयोजनाको कुल लागत ३३ अर्ब रहेको छ, जसमा १७ अर्बको काम सम्पन्न भैसकेको र बाँकी काम ५ वर्षभित्र पूरा हुने योजना रहेको बताइएकाे छ । ४४ हजार हेक्टर जमिन सिचाईं गर्ने लक्ष्य बोकेको सिक्टाबाट यो वर्ष १६ हजार हेक्टर जमिन सिचाई हुने आयोजना प्रमुख लोक बहादुर थापाले बताउनुभयो ।

आकाशे वर्षाको भरमा खेती गरिरहेका किसानहरुले भने समयमै नहरबाट पानी आएपछि खेतीमा आकर्षित भएकाे बताएका छन् । वर्षा नहुँदा धेरै खेतहरु बाँझो रहेकाे स्थानीय किसान लालमती बुढाले बताउनुभयाे ।

सिचाइँ अभावमा विगतमा उत्पादन पनि कम हुने गरेको थियो । तर यो वर्ष अरु वर्षभन्दा उत्पानमा वृद्धि हुने आशा पलाएको उहाँकाे भनाइ छ । वर्षाको भरमा खेती गर्दा खेती गर्न ढिलो हुने र समय लाग्ने गरेको तर नहरकाे पानी वेलैमा आउँदा उत्पादन बढ्नेमा किसानहरू आशावादी छन् ।

सिक्टा सिचाईंको आयोजना पूरा भएपछि बाँके र बर्दियाका किसानहरुले १२ महिना नहरको पानीले खेती गर्न सक्ने उद्देश्य रहेको छ । असार सुरु भएदेखि किसानलाई धान राेप्न चटारो लागेको छ । पश्चिम तराई क्षेत्रका अधिकांश स्थानमा धान रोपाइँ सुरु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV