७ असार २०७७, आईतवार
  • बाल बिक्रम कार्की

रौतहट, ७ असार । रौतहटमा कोरोना संक्रमण मुक्त भएर थप ४० जना घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा ३ सय ७२ पुगेको छ ।

गौर नगरपालिकाको गौर नसिङ्ग इन्टिच्युटको आइसोलेनबाट जिल्लाका विभिन्न पालिकाहरुका संक्रमितहरु निकाे भएर डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेहरुमा ३९ जना पुरुष र १ जना महिला रहेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरुमा २ जना बालबालिकाहरु पनि रहेका छन् ।

बालबालिकाहरुमा सुरुदेखि नै कोरोना संक्रमण नदेखिए पनि अभिभावकसँग छुट्याएर बस्न नसक्ने भएकाले अभिभावकसँगै आइसोलेसनमा राखिएको डा. साहले बताउनुभयो । बालबालिकाको अभिभावकमा कोरोना संक्रमण पुष्टिभएपछि उनीहरुलाई पनि अभिभावकसँगै राखिएको र पछि उनीहरुको पीसीआर विधिद्वारा गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिस्चार्ज गरिएका ४० जनाको हेटौडास्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको हो । सो आइसोलेसनमा रहेका सबै ४० जना घर फर्किपछि हाललाई सो आइसोलेसन खाली भएको छ । अब सो आइसोलेसनमा नयाँ संक्रमित तथा  हाल आइसोलेसनमा बस्न नपाएका जिल्लाका संक्रमितहरुलाई राख्ने तयारी भइरहेको छ ।

‘स्वास्थ्यकर्मीको अथक मेहनत र लगनशीलताको कारण यो सफलताको पाएका हाैँ,’ उहाँले भन्नुभयो, ‘हामीले जिल्लामै संक्रमितहरुको उपचार गर्छौं भनेर सुरु गरेको अभियान क्रमश सफल हुँदै गएको छ । हामी निकै खुसी छाैँ ।’ उहाँका अनुसार आइसोलेसन अवधिभर ४० जनामध्ये कसैलाई पनि स्वास्थ्य समस्या देखिएन । संक्रमणमुक्त भएर घर फर्किएकाहरुले निकै खुसी हुँदै अब समाजमा गएर कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने कार्यमा लाग्ने बताएका छन् ।

जिल्लाका संक्रमितहरुलाई अन्य जिल्लाका कोभिड अस्पतालले बेडको अभाव देखाएर भर्ना लिन नमानेपछि गौर अस्पतालको पहलमा गौर नसिङ्ग इन्टिच्युटलाई आइसोलेसन बनाएर उपचार सुरु गरेको थियो ।

जिल्लामा शनिबारसम्म ६ सय ८६ पुरुष र ३६ महिला संक्रमितहरुको जिल्लाकै विभिन्न आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यहाँ शनिबार दिउँसो सम्ममा १ हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV