विभिन्न दाताहरुको सहयोगमा खरिद गरिएको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण



प्रकाशित मिति : Jun 20, 2020
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ६ साउन । वीरगन्ज उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योग व्यवसायीहरुको सहयोगमा वीरगञ्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

राणिसति अतिथि सदनमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. मदन कुमार उपाध्यायलाई मेसिन हस्तान्तरण गरेका हुन् ।

पीसीआर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको भन्दै कोरोना महामारी व्यवस्थापनमा संघ सरकारले केही सहयोग नगरेपनि प्रदेश सरकारले सहयोगका लागि कुनै कसर बाँकी नराखेको बताए ।

उनले अन्य प्रदेश भन्दा २ नम्बर प्रदेशले कोरोना संक्रमण नियन्त्रणमा भूमिका खेलेको दाबी गरे । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाइरस विस्तारै नेपालभरी नै पुग्न लागेको र नेपाल–भारतको मुख्य प्रवेशद्वार वीरगन्जमै रहेकोले वीरगन्ज कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताए ।

वीरगन्जलगायत पर्सा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले चाहेजति पीसीआर परीक्षण लगायत सुरक्षा सतर्कतामा पनि कमी आएको भन्दै त्यही जोखिम कम गर्नका लागि पीसीआर मेसिनको आवश्यकता महशुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेको र यहाँका उद्योगी व्यवसायी लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा पीसीआर मेसिन खरिद गरी नारायणी अस्पताललाई हस्तान्तरण गर्न सफल भएको बताए ।

उनले पीसीआर मेसिन जडानपछि एक घरबाट एक जनाको परीक्षण गर्ने योजना रहेको भन्दै अहिलेपनि समुदायमा लुकेर रहेका कोरोना संक्रमितहरुलाई पत्ता लगाई उपचार गर्ने बताए ।

त्यस्तै, वीरगन्जलगायत पर्सा जिल्लालाई नै कोरोना मुक्त बनाउने वीरगन्ज महानगरपालिकाको योजना रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com