संक्रमित ३० हजार पुग्ने नयाँ प्रक्षेपणसहित सरकार व्यवस्थापनको रणनीतिमा जुट्यो



प्रकाशित मिति : Jun 20, 2020
  • रिया भण्डारी

काठमाडौं, ६ असार । सरकारले नेपालमा करिब ३० हजार कोरोना संक्रमित हुनसक्ने नयाँ प्रक्षेपण गरेको छ । ३० हजार संक्रमित पुगे कसरी ब्यबस्थापन गर्ने भन्ने रणनीतिका बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पहिलो चरणमा ५ हजार, दोस्रो चरणमा १५ हजार संक्रमित हुने प्रक्षेपण गरेको थियो भने शनिबार तेस्रो चरणमा ३० हजार संक्रमित हुने प्रक्षेपण गरेको हो । केही महिना अघि सम्म संक्रमणबाट सुरक्षित भनिएको नेपालमा कोरोना संक्रमितको संख्या साढे आठ हजार नाघिसकेको छ ।

संक्रमितको संख्या बढ्दै गएपनि लकडाउन खुकुलो बनेको मात्र छैन, जताजतै भीडभाड देखिन थालेको छ । यसले गर्दा संक्रमणको रफ्तार बढ्ने निश्चित छ । देशभरका २२ प्रयोगशालामा संकलित स्वाबको थुप्रो लागेको छ ।

असार ५ गतेसम्मको तथ्यांक अनुसार देशभरका ल्याबमा २५ हजारभन्दा बढी स्वाब कोभिड–नाइन्टिन परीक्षणको पालो कुरिरहेका छन् । हाल दिनको ७ हजार पीसीआर परीक्षण भैरहेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि प्रत्येक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाइने बताउनु भएको छ ।

त्यसैगरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरले मेडिकल सामग्री खरिदको जिम्मेवारी पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय गरको छ । आइतबारदेखि सामान खरिद बारे छलफल अघि बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यहि रफ्तारमा संक्रमण बढ्दै जाँदा समय मै स्वास्थ्य सामग्री खरिद नभए कोरोना संक्रमणले भयाभह रुप लिने बिज्ञ बताउँछन् । अहिलेसम्म जम्मा १ लाख ६९ हजार १ सय ६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी परीक्षण भएको छ । साथै हाल देशभरका क्वारेन्टाइनमा १ लाख २ हजार २ सय ४५ जना छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com