तत्काल अनिवार्य ब्याज र किस्ता तिर्न बाध्य नगराउन कर्जा ऋणि संघर्ष समितिको माग



प्रकाशित मिति : Jun 20, 2020

काठमाडौं, ६ असार । कर्जा ऋणि संघर्ष समितिले कारोना महामारी समाप्त नभएसम्म अनिवार्यरुपमा ब्याज र किस्ता तिर्न बाध्यन नगराउन सरोकारवाला पक्षहरुसंग आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोरोना भाइरसको महामारी समाप्त भई सहज रुपमा व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना सञ्चालन नहुन्जेल कुनै पनि व्यक्ति तथा संस्थासँग अनिवार्य ब्याज, किस्ता तिर्न बाध्य नगराई, बन्दाबन्दी समयको ब्याज, किस्ता तिर्ने भाका बन्दाबन्दी खुलेको एकबर्षसम्म कायम गरिनुपर्ने र सोको कुनै पनि जरिवाना नलिने व्यवस्था गरिनुपर्ने माग राखेको छ ।

समितिले बन्दाबन्दीको समयपश्चात् दिइएको भाकासम्म कुनै पनि ऋणिको धितो लिलाम नगरिने सुनिश्चितता गरिनुपर्नेपनि माग समेत अघि सारेको छ । साथै, धितोको बजार मूल्य घटेका आधारमा मार्जिन कल नगर्ने व्यवस्था गरिनुपर्ने समितिको माग छ ।

समितिले विद्यमान अवस्थामा ऋण तिर्न बाध्य पारिए अधिकांश ऋणीहरुको धितो, घरबार एवम् सम्पत्ति लिलाम हुने, रोजगार गुम्ने, बसोबास गुम्ने, लाखौँ आश्रित परिवारको बिचल्ली हुने साथै राष्ट्रिय अर्थतन्त्रसमेत धरासायी हुने अवस्था आउने खतरा समेत औंल्याएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका यज्ञमणि न्यौपानेले बन्दाबन्दीको समय र भाका भित्रको समयमा निक्षेप र कर्जाको ब्याज घटाई ब्याजमा सहुलियत प्रदान गरिनुपने बताउनु भयो । उहाँले स्वदेशी उद्योगधन्दा, व्यवसाय संरक्षण गर्नको लागि आवश्यक र उपयुक्त राहत प्याकेज व्यवस्था गरिनुपर्ने धारणा समेत राख्नु भयो । आफूहरुको माग सम्बोधन नभए सडकमा आउन बाध्य हुने उहाँको चेतावनी छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com