६ असार २०७७, शनिबार

काठमाडौं, ६ असार । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाकाली सन्धिमा कुनै राष्ट्रघात नभएको प्रष्ट पार्नु भएको छ ।

उहाँले महाकाली सन्धिमा महाकाली नदीलाई अधिकांश सीमा भनेर राष्ट्रघात भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदी मात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्छन भनेर प्रश्न गर्नुभयो ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक अर्चुअल अन्तक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदुरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको पनि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनु परेको धारणा पनि राख्नु भयो । उहाँले नेपाली कांँग्रेसले पनि हलो क्रान्ति, मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको पनि बताउनु भयो ।

पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र सहरमा जनसंख्याको चाप बढ्ने अनि गाँउ रित्तो हुने अवस्थाको अन्त्य नहुने पनि प्रष्ट पार्नुभयो ।

पौडेलले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले १४ औं महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पार्टीमा भिजन र मिसनसहितको नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वभरका पुँजीवादी र साम्यावादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावाद तर्फ उन्मुख भएको बताउनु भयो । पुँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले नेपाली कांँग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनता प्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने पनि उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV