६ असार २०७७, शनिबार
  • शीतल भट्ट

कञ्चनपुर, ०६ असार । देशमा कोरोना महामारी चलिरहेका बेला काण्डैकाण्डले चर्चामा आइरहने कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पछिल्लो पटकको टेण्डर काण्डलाई लिएर अख्तियारले नजर गाडेको छ ।

टेण्डर प्रकरणसम्बन्धी उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरले  सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

 

अख्तियारले बेलडाँडी गाउँपालिका कार्यालय टेण्डर प्रकरणका सबै कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख महेश पाण्डेले बताउनुभयो । उहाँले टेण्डर प्रकरणमा अनियमितता भएको उजुरी परेपछि आवश्यक कागजात नियन्त्रणमा लिएको जानकारी दिनुभयो । साथै यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार प्रमुख पाण्डेले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष कार्की खुसी

यता स्वयं गाउँपालिका उपाध्यक्ष कमला कार्कीले टेण्डर प्रकरणमा वास्तवमै अनियमितता भएको ठोकुवा गर्नु भएको छ । कार्कीले उक्त टेण्डरमा निर्माण व्यवसायीहरुलाई प्रतिष्पर्धामा आउन नदिनु न्यायोचित नभएको जिकिर समेत गर्नु भयो ।

उपाध्यक्ष कार्कीले अख्तियारले सबै कागजात लिएर गएकोमा खुसी समेत व्यक्त गर्नुभयो । उहाँले यस बिषयमा निष्पक्ष छानबिन गर्ला भन्ने विश्वास लिएको समेत बताउनुभयो ।

यस्तै केही समूहले हुलहुज्जत गरी आफुहरुलाई प्रतिस्पर्धामा आउन रोक लगाएको दावी गर्दै न्यायका लागि अख्तियारमा उजुरी दिएको पीडित निर्माण व्यवसायीहरुको भनाइ छ ।

टेण्डरकाण्ड जस्ता बेलाबेलामा विभिन्न किसिमका काण्डैकाण्ड हुनुले बेलडाँडी गाउँपालिको भविष्य कता तिर गइरहेको छ भन्दै स्थानीय सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

LIVE TV