
काठमाडौं, ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेकाे छ । शनिबार बसेकाे नेकपा सचिवालयले बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने व्यवस्थाकाे पक्षमा निर्णय गरेकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विदेशी मूलकी बुहारी नेपाल भित्र्याउँदा उनलाइ विवाह गरेर भित्रिएकाे ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिन सकिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्नेमा सहमति जनाइएकाे छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसदमा विचाराधिन नागरिकता विधेयकका कतिपय प्रावधानहरूबारे बैठकमा छलफल भएकाे थियाे । उहाँले भन्नुभयाे, ‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि मात्र आफ्नो विदेशकाे नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र नेपाली वैवाहिक अंगीकृत नागरिता प्राप्न गर्न सक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्ने बैठककाे निष्कर्ष रह्याे ।’
तर बैठकमा विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने माग नेकपाकै महिला सांसदहरुले राखेका थिए, त्याे माग भने अस्वीकृत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे । उहाँ स्वयंले पनि नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राख्नुभएकाे थियाे तर उक्त प्रस्तावमा अरु नेता सहमत नभएकाे जनाइएकाे छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मेधस केन्द्रित दलहरू भने नेकपाकाे यस प्रावधानकाे विपक्षमा रहेका छन् । उनीहरूले विगतदेखि नै विदेशी बुहारीलाई १ वर्षभित्रै नागरिकता दिनुपर्ने बताउँदै अाएका छन् । तर नेकपा नेताहरू भने कम्तीमा ७ वर्ष अवधि राखेर मात्र विदेशी बुहारीलाइ नागरिकता दिनुपर्ने पक्षमा छन् । साेही अनुसार नेकपाले संसदमा बहुमत जुटाएर भए पनि नागरिकता विधेयकसम्बन्धी निर्णय गरेर अघि बढ्ने मनस्थिति बनाएकाे बुझिएकाे छ ।