६ असार २०७७, शनिबार

काठमाडौं, ०६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षनै (एमसीसी)का सम्बन्धमा लामो समय अघिबाट दुई पक्षमा विभाजित छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली जसरी भएपनि संसदबाट पारित गर्ने पक्षमा रहनुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझावलाई आधार मान्दै अघि बढ्नुपर्ने पक्षमा रहनुभएको छ ।

नागरिक स्तरबाट चर्को आलोचना र नेकपा भित्रै एमसीसी पारित गर्ने या नगर्ने भन्ने बिषयमा एकमत हुन नसकेपछि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनेको थियो। कार्यदलले परिमार्जनसहित संसदबाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।

आजको बैठकले एमसीसीको सम्बन्धमा ठोस निर्णय लिन सक्ने नेताहरुको अपेक्षा रहेको छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै आज बिहान ९ बजेका लागि बैठक बस्ने तय गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV