५ असार २०७७, शुक्रबार

काठमाडौं, ५ असार । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई कारबाहीको माग राख्दै महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी परेको छ ।

चार जना अधिवक्ताहरुले शुक्रबार सांसद सरिता गिरीलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै टेकुमा उजुरी दिएका हुन् ।

सांसद गिरीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका जानकारी गराइएको छ । उजुरी परेसँगै अनुसन्धान सुरु भइसकेको परिसरले जानकारी पनि गराएको छ ।

सांसद गिरीले नेपाली भूभाग ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नभई भारतको हो’ भन्दै विवादास्पद बयान दिदै आएकी थिइन्, भने पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन् ।

उक्त प्रस्तावमा सो क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने उनको दाबी थियो, तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV