५ असार २०७७, शुक्रबार

काठमाडौं, ५ असार । सत्तारुढ नेकपाका शीर्ष नेताहरुले नागरिकताको विषयमा नेपाल जस्तो मुलुक कठोर बन्नु पर्नेमा एक मत व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे समितिमा रहेका पार्टीका सांसदहरूसंगको छलफलमा नेकपा शीर्ष नेताहरुले नागरिकता जस्तो संवेदनशील विषयमा कठोर बन्नै पर्ने मत व्यक्त गरेका हुन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले विदेशी महिलाले नेपाली पुरुषसंग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानूनी प्रावधान परिवर्तन गर्न सहमत हुनु भएको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले नागरिकता दिने वर्तमान प्रावधान लचिलो भएको भन्दै यसलाई परिमार्जन गरी कडा प्रावधान राख्न आवश्यक भएको बताउनु भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा नेकपाको तर्फबाट सांसदहरुले राखेको विवाह गरेको ७ बर्षपछि मात्र वैवाहिक नागरिकता दिने प्रस्तावमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सहमति जनाउनु भएको हो ।

दुबै नेताले नागरिकता जस्तो संवेदनशील विषयमा लचिलो हुन नसकिने बताउदै कठोर प्रावधान आवश्यक भएको धारणा राखेपछि समितिको अब बोलाइएको बैठकमा नेकपाकातर्फ उही अडान दोहोरिने भएको छ ।

छलफलमा अध्यक्ष दाहालले हिजोका शासकहरुले गरेको गल्ती अब दोहो¥याउन नहुने बताउदै नागरिकतामा अब कडा भएर जानु पर्ने धारणा राख्नु भएको थियो ।
छलफलमा नेकपाका केही सांसदहरुले भने नेपाली महिलासंग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिनु पर्ने माग र तर्क पनि अघि सारेका थिए ।

यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने समितिमा प्रस्ताव गरिएको सात बर्षे प्रावधानको विरोध गर्दै आएको छ । काँग्रेसले नागरिकता दिने सवालमा अहिले कायम व्यवस्था नै लागू गरिनु पर्ने अडान राख्दै आएको छ ।

विधेयकमा सहमति जुटाउन समितिले हिजो बिहीबार सरकार र दलहरुलाई ५ दिनको समय दिएपछि बिहीबार नै नेकपा र नेपाली काँग्रेसका नेताहरुबीच वालुवटारमा छलफल भएको थियो । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन ।

दुई बर्षदेखि निरन्तर विवादमा रहेको यो विधेयकबारे सर्वसम्मतिको प्रयास जारी राखिए पनि काँग्रेसले आफ्नो अडान कायम राख्दा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV