
- रिदम सिंह,
बझाङ, ५ असार । नेपाल टेलिकमले बझाङमा ‘फोर जी’ सञ्चालन गरेको करीब चार महिना पुगेको छ । चैतदेखि सुरु गरेको फोर जी सेवा अहिले सदरमुकाममा मात्रै सञ्चालनमा रहेको छ ।
सदरमुकाम चैनपुर बाहेक अन्य ग्रामीण बस्तीहरुमा भने टेलिफोनको नेटवर्क नहुँदा निकै समस्या हुने गरेको छ । त्यसोत, बझाङको सदरमुकाम चैनपुरमा समेत विहान बेलुका समय–समयमा नेटवर्क समेत जाने गरेको छ ।
त्यस्तै, जिल्लाको बुंगल नगरपालिकामा नेटवर्क नहुँदा आफन्तलाई फोन गर्न समस्या हुने गरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाका लागि भन्दै नेपाल टेलिकमले तीन वर्ष पहिला बुंगल नगरपालिका वडा नम्बर १० को तुमेडा डाँडामा टेलिकमले नयाँ टावर समेत जडान गरेको थियो ।
टावर जडान गरेको केही महिनासम्म सेवा सूचारु रह्यो । स्थानीय बासिन्दा पनि सञ्चारसँग जोडिएको भन्दै दंग परे । तर, अहिले उक्त टावरले दीगो रुपमा काम गर्न नसकेको स्थानीय बासिन्दा रामबहादुर धामीले बताए ।
अहिले यहाँका स्थानीय बासिन्दाहरुले एक कल फोन गर्नु परेको खण्डमा डाँडाहरुमा पुगेर कुराकानी गर्ने गरेको उनको भनाइ छ । गाँउमा कोही सुत्केरी, घाइते, विरामी पर्दा स्वास्थ्यकर्मीहरु तथा सवारी चालकलाई बोलाउनका लागि मान्छेलाई नै पठाउनु पर्ने अवस्था अझै कायमै रहेको धामीले बताए ।
त्यति मात्रै नभएर अहिले कोरोना महामारीको समयमा विदेश गएका आफन्तहरुसँग कुराकानी गर्न नपाएको यहाँका स्थानीयको गुनासो छ । कहिले काँही दिउसो घाम लागेको दिनमात्रै एक दुई घण्टा नेटवर्क आउने र बाँकी समय नेटवर्क नआउने गुनासो गरे ।
इमर्जेन्सी टेलिफोन गर्नुपरेको अवस्थामा तीन–चार घण्टा पैदल हिडेर अग्ला डाँडामा पुगेर फोन गर्नु पर्ने अवस्था रहेको निर्मला सिहले बताइन् । फोर जीको जमानामा बुंगल नगरपालिकामा भने एक कल फोन गर्नै समस्या हुने गरेको उनको भनाइ छ ।
टेलिफोन सेवा नहुँदा विभिन्न कार्यालयका कामकाजमा समेत बाधा पुग्ने गरेको बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर रोकायाले बताए ।
उनले भने “अफिसको सामान्य कामका लागि समेत जिल्लाको सदरमुकाम चैनपुर पुग्नु पर्ने अवस्था छ । नेटवर्क नहुदा एक सयमा बन्ने काम समेत एक हजार पाँच सय सम्मखर्च हुने गरेको छ ।”
यता बुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टले भने आफूले यो विषयमा पटक–पटक सरोकारवालासँंग छलफल तथा भेटघाट गरेको भएपनि अझै काम हुन नसकेको बताए ।
यो विषयमा कुनै पनि सांसदहरुको ध्यान नपुगेको यहाँका स्थानीय बासिन्दाको आरोप छ । चुनावको मुख्य एजेन्डा लिने गरेका जिल्लाका सांसदहरुले अहिलेसम्म यो विषयको उठानसम्म नगरेको उनीहरुको आरोप छ ।
यता नेपाल टेलिकमका केन्द्रीय निर्देशक निर्मल चटौतले भने यो विषयमा आफ्नो ध्यानाकर्षण भएको र बुंगल नगरपालिकाका मेयरले समेत पटक–पटक आफूलाई यस विषयमा जानकारी दिने गरेको स्वीकार गरे । साथै, अबको एक महिनाभित्र सोलार थप गरेर सेवा सूचारु गरिने बताए ।