५ असार २०७७, शुक्रबार

काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताउनुभएको छ । शुक्रबार अध्यक्ष दाहालले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच भिडियो कार्यशालामा यस्तो बताउनुभएको हो ।

नेकपाभित्रै अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) सम्झौतालाई लिएर विवाद भइरहेको समयमा अध्यक्ष दाहालले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताउनुभएको हो ।

उहाँले, संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै स्वीकार्य छैन, भन्नुभयो । नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, उहाँले नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै नेपालले स्वागत गर्ने बताउनुभयो ।

यसका साथै अध्यक्ष दाहालले छिमेकी भारतको नाम नलिई सीमा विवादमा नेपालको पोजिसनबारे पनि बोल्नुभएको छ । नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको भन्दै द्वीपक्षीय विषय संवादबाट समाधान गर्न सकिने बताउनुभयो ।

नेपाल र चीन सुख र दुःखका मित्र भएको उहाँको भनाइ थियो । कोरोना महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV