५ असार २०७७, शुक्रबार
  • सुरेश श्रेष्ठ

दाङ, ५ असार । ‘समृद्ध तुलसीपुर – खुसी जनता हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर’ भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिकाको सातौ नगरसभामा आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमयुक्त अवस्थामा पनि आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्नु हुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक, राजनीतिक तथा सामाजिक संघसंस्थाहरु लगायत कोरोना विपद् कोषमा सहयोग गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्नुभएको छ ।

जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारलाई अगाडि वढाएको छ । चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार वनाएको छ । आगामी वर्ष यसले सडक पूर्वाधार बाहेक अन्य क्षेत्रमा पनि दु्रत गतिमा विकास गर्नेछ ।

कार्यक्रममा ‘जहाँ विद्यार्थी त्यही शिक्षक र संरचना’ भन्ने नीति अनुसार न्यून विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयहरु मर्ज गर्ने नीतिलाई अगाडि वढाइएको छ । यसलाई निरन्तरता दिदै संघ सरकारले पनि यो प्रक्रियालाई देशव्यापीरुपमा विस्तार गर्दै अनुदान दिई मर्जरलाई प्रोत्साहन गर्ने नीति अगाडि सारिएको छ ।

यसैगरी कार्यक्रममा समृद्ध वडा, सक्षम जनशक्ति भन्ने नीति अनुसार तुलसीपुर उपमहानगरपालिकालाई दक्ष जनशक्तिले सुसम्पन्न बनाएर तीव्र र गुणस्तरीय सेवा प्रदान गर्नका लागि हरेक वडामा अधिकृतस्तरको वडा प्रमुख, इञ्जिनियर, सब इञ्जिनियर र अमिन लगायतका कर्मचारीको व्यवस्था गरिएको छ । नगर कार्यालयमा प्रयाप्त जनशक्तिको व्यवस्था गरिएको छ ।

तुलसीपुर नगरवासीले गौरब अनुभूति गर्ने खालका हामीले नगरका गौरबपूर्ण आयोजनाहरु जस्तैः तुलसीपुर कृषि उपज, तरकारी तथा फलफुल बजार, तुलसीपुर आधुनिक वसपार्क, तुलसीपुर मेट्रो कलेज (बहुप्राविधिक शिक्षालय) , तुलसीपुर अटो भिलेज लगायतका आयोजनाहरुलाई सम्पन्न गरिसकिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

तुलसी ट्रेड टावरको डीपीआर तयार गर्नुका साथै ऐतिहासिक तथा धार्मिकस्थल छिल्लीकोटोको केबुलकार सम्भावना अध्ययनको कार्य अन्तिम चरणमा रहेको कार्यक्रममा जनाइएको छ । यस्तै स्वास्थ्य सेवामा सुदृढीकरण र मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई ५ हजार प्रोत्साहन भत्ता वितरण गरेका कारण सुत्केरी आमाको मृत्युदरलाई २ वर्षमै शून्यमा झार्न सफल भएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोरोना संकटका कारण आम जनताको जीवनमा परेको प्रभावलाई मध्यनजर गरेर बजेट ल्याउने गरी नीति तथा कार्यक्रम तय भएको पनि नगर प्रमुख पाण्डेले बताउनु भयो । स्थानीय तहहरुले असार १० गतेसम्म बजेट प्रस्तुत गर्नैपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV