५ असार २०७७, शुक्रबार
  • हरिशंकर शर्मा

वीरगन्ज ५ असार । पर्सा जिल्लाको ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने मुख्य सडक हुलाकी राजमार्ग अन्तर्गत पर्ने तिलावे खोलाको पुल निर्माण नहुँदा पर्सावासीहरु मर्कामा परेका छन् ।

विगत ७ वर्षभन्दा अघिदेखि पप्पु कन्स्ट्रक्सनले निर्माण कार्यको ठेक्का लिएको पुल हालसम्म निर्माण सम्पन्न नहुँदा पर्सावासी लगायत त्यस क्षेत्रबाट आवत जावत गर्ने सवारी साधनहरुले सास्ती खेप्नु परेको छ ।

पर्सा जिल्लाको १४ वटा स्थानीय तहमध्ये सदरमुकाम वीरगन्ज महानगरपालिका बाहेकका अन्य १३ वटा स्थानीय तह तिलावे नदी पारी रहेको छ ।

 

जिल्लाबासीहरुलाई सदरमुकाम धाउन उक्त बाटोको प्रयोग हुने गरेको छ । भने त्यही नजिकै रहेको सुख्खा बन्दरगाहमा आउने मालसामान लोड अनलोड गर्न पनि त्यही आसपासका नागरिकहरु सुख्खा बन्दरगाह पुग्ने गरेका छन् ।

दैनिक हजारौं सवारी साधन गुड्ने उक्त सडकमा तिलावे नदीको पुल बन्न नसकेको कारण जिल्लावासी नै पीडित छन् । बेला बखत यहाँका नेता, नागरिक समाज अगुवा तथा बुद्धिजीवीहरुले विरोध गर्दा केही दिनको लागि काम सुरु हुने र पुनः काम बन्द गरिने भएको छ ।

प्रत्येक वर्षको आर्थिक मसान्त सकिन लाग्दा पुल निर्माणको काम सुरु हुने र आर्थिक मसान्त सकेपछि पुनः काम बन्द गरिने गरिएको पाइएको छ । यसरी ७ वर्ष विति सकेको छ । अहिलेपनि काम भइरहेको छ, ८/१० जना कामदारहरुले काम गरिरहेका छन्, तर त्यो पनि यो महिना सकिने वित्तिकै बन्द हुने जनाएइको छ ।

चाँडो भन्दा चाँडो तिलावे नदीको पुल निर्माण कार्यलाई सम्पन्न गर्न माग गर्दै गत एक हप्तादेखि विभिन्न नेता, समाजसेवीहरु पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउने काम गर्दै आएका छन्, त्यसैले अहिले काम सुरु गरिएको छ तर त्यसले निरन्तरता पाउँला भन्नेतर्फ कोही पनि विश्वस्त छैन ।

त्यस क्षेत्रबाट आगावमन गर्ने सर्वसाधारणहरुले प्रत्येक वर्ष असार महिनामा पुल निर्माण कार्यलाई अगाडि बढाउने असार महिना सकिने वित्तिकै बन्द गर्दै आएको बताएका छन् ।

बढीमा दुईदेखि तीन वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने तिलावे नदीको पुल निर्माण कार्य सुरु भएको ७ वर्ष भइसक्यो तर राजनीतिको आडमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले पर्साबासीसँग खेलवाड गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV