५ असार २०७७, शुक्रबार

काठमाडौं, ५ असार । यही आइतबार (असार ७ गते) विहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्य ग्रहणको अवलोकन गर्न सकिने भएको छ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर–काठमाडौंका अनुसार उक्त सूर्य ग्रहणको विहान १०ः३० बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्ष प्रसारण गरिने र १०ः५४ बजेदेखि अवलोकन गर्न सकिने भएको हो ।

नेपालका कहाँ कहाँबाट हेर्न सकिन्छ ग्रहण ?

समितिका अनुसार यस सूर्य ग्रहण बलयाकार ग्रहण भएतापनि नेपालबाट भने खण्डग्रास मात्र देखिने भएको छ । काठमाडौंबाट १०ः५४ बजे प्रारम्भ हुने उक्त सूर्य ग्रहण १४ः२४ बजे (३ घण्टा ३१ मिनेट) सम्म अवलोकन गर्न सकिनेछ ।

त्यस्तै, पोखराबाट १०ः५२ बजेबाट प्रारम्भ हुने यस सूर्य ग्रहण १४ः२२ बजे (३ घण्टा ३० मिनेट)सम्म अवलोकन गर्न सकिनेछ ।

त्यस्तै, भद्रपुर, झापाबाट ११ः५२ बजे प्रारम्भ हुने उक्त सूर्य ग्रहण १४ः३२ बजे (३ घण्टा ३० मिनेट)सम्म अवलोकन गर्न सकिनेछ, भने जनकपुरबाट १०ः५६ बजेबाट प्रारम्भ हुने सूर्य ग्रहण १४ः२७ बजे (३ घण्टा ३१ मिनेट)सम्म अवलोकन गर्न सकिनेछ ।

यता महेन्द्रनगर, कञ्चपुरबाट १०ः५४ बजेबाट सुरु हुने र १४ः२५ बजेसम्म (३ घण्टा २९ मिनेट)सम्म अवलोकन गर्न सकिने समितिले जनाएको छ ।

यस सूर्य ग्रहणको मध्यभाग अर्थात् पूर्ण बलयाकार मध्य अफ्रिकाको कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमन, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत र नेपालको लिम्पियाधुरा, कालापानी नजिक र दक्षिण पूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुने समितिले जानकारी गराएको छ ।
यस खण्डग्रास उत्तर र पूर्वी अफ्रिकाबाट सुरु भएर दक्षिण पूर्वी यूरोप, नेपालसहित एसियाका धेरैजसो भाग र अष्ट्रेलियाको उत्तर भागमा पुगेर सूर्यास्तसँगै अन्त हुनेछ ।

ग्रहण बलयाकार भए पनि नेपालबाट खण्डग्रास मात्र अवलोकन गर्न सकिने

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार बलयाकार सूर्य ग्रहण काठमाडौंबाट दृष्टिगत नहुने तर खण्डग्रास सूर्य ग्रहणको रुपमा अवलोकन गर्न सकिनेछ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।

सूर्य ग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ । खण्डग्रास, खग्रास तथा बलयाकार सूर्यग्रहण विभिन्न खगोलियम अवस्थामा निर्भर गर्दछ ।

यस सूर्य ग्रहणमा चन्द्रमा पृथ्वीबाट सवभन्दा टाढा पुगेको केही दिनपछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुदाँ पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रकाशलाई पूर्ण रूपमा नछेक्ने हुदाँ सूर्य केवल रिङ आकारको गोलाकार रुपमा अवलोकन हुनेछ । काठमाडौंबाट भने यो केवल खण्डग्रासको रुपमा अवलोकन गर्न सकिनेछ ।

सूर्य पृथ्वीबाट लगभग १५ करोड कि.मी टाढा रहेको छ । यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ र चन्द्रमाको ब्यास पृथ्वीको एक चौथाइ मात्र छ । तौल तीन लाख ३३ हजार गुणा बढी छ । यसको बाहिरी सतहको तापक्रम लगभग ६००० डिग्री सेन्टिग्रेड र केन्द्रको तापक्रम १५०००,००० डिग्री सेन्टिग्रेड रहेको छ ।

सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छन् । पृथ्वी आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ । सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुने गर्छ ।

पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्दछ । चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकोले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्श रेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ । चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् ।

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स–रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन ।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ । साधारण चश्माबाट पनि यसको अवलोकन गर्नु हुँदैन । सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV