पोखरामा रिपोर्ट नआएकाहरु घर गए, नेगेटिभ भएकाहरु क्वारेन्टाइनमा थुनिए



प्रकाशित मिति : Jun 19, 2020
  • उत्तम पौडेल,

पोखरा, ५ असार । कोरोनाको संक्रमण दर बढ्दै गएको गण्डकी प्रदेशका केही क्वारेन्टाइनमा बस्दै आएकाहरुको गुनासो बढ्न थालेको छ ।

पोखराको वडा नं ५ मा रहेको क्वारेन्टाइनमा रहेका केहीले आफुहरु १७ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएको तर आफुहरुलाई घर पठाउने तर्फ बेवास्था गरिएको बताएका छन ।

नारायणगढबाट केही दिन अगाडि पोखरा आएका यामु बस्नेत पृथ्वीचोकका स्थायी बासिन्दा हुन । उनी बिगत १७/१८ दिन देखि पोखरा ५ मा रहेको महानगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका छन ।

उनको पीसीआर रिर्पोट नेगेटिभ आएको छ तर उनलाई घर जान भने दिइएको छैन । त्यस्तै जाल्पा रोडका भीमबहादुर बिक महेन्द्रनगरबाट आएर सीधै क्वारेन्टाइनमा बसे । उनको पनि रिपोर्ट नेगेटिभ आएको छ भने बाराबाट आएका अस्लम अन्सारीको पनि रिपोर्ट आउन ढिला आएता पनि नेगेटिभ आएको छ तर उनीलाई पनि घर जान भने दिइएको छैन ।

सोही क्वारेन्टाइमा सुरक्षा दिइरहेका केही ब्यक्तिको रिर्पोट पछि आउने र टेलिफोनबाट जानकारी दिइने भन्दै पठाइएको उनीहरुको गुनासो छ । तर सोही क्वारेन्टाइनमा रहेका अन्य केही ब्यक्तिहरु पनि पछि रिर्पोट आए पछि सम्पर्क गर्ने भन्दै घर फर्किएको उनीहरु बताउँछन ।

आफूहरु भन्दा पछि आएर बसेकाहरुलाई १४ दिन मात्र राखेर घर पठाइएको उनीहरुको गुनासो छ । घर फर्केकाहरुलाई रिपोर्ट आएपछि जानकारी गराउने भन्दै घर पठाउने तर आफूहरुलाई रिर्पोट नेगेटिभ आउँदा पनि घर जान नदिएको दाबी उनीहरुले गरेका छन ।

हाल आफूहरु रहेको क्वारेन्टाइनको फ्ल्याटमा ६ जना रहेको र सबैको पीसीआर रिर्पोट नेगेटिभ आएको उनीहरु बताउँछन । उनीहरुले आफुहरुलाई रिर्पोट नेगेटिभ आउँदा पनि घर जान नदिनुको कारण सोध्दा त्यहाँ जवाफ नपाएको बताए । उक्त क्वारेन्टाइमा हाल ४६ जना रहँदै आएका छन । गण्डकी प्रदेशमा हाल सम्म ३ सय ९० जना संक्रमित फेला परेका छन ।

एकातिर पीसीआर कलेक्सन ढिला हुने , रिर्पोट आउन महिनौ लाग्ने र रिर्पोट आएपछि पनि ब्यवस्थापनको पाटो फितलो हुँदा पोखरा ५ मा रहेको क्वारेन्टाइमा बसेका अधिकांश ब्यक्तिहरु आक्रोसित बनिरहेका छन ।

हाल गण्डकी प्रदेशमा करिब १८०० जनाको पीसीआरको रिर्पोट आउन बाँकी रहेको छ । स्वाब संकलन गर्ने तर रिर्पोट आउन महिनौ लगाएका कारण क्वारेन्टाइमा बसेकाहरुको मनोबल घटेको त्यहाँ बस्नेहरु नै बताउँछन ।

गण्डकी प्रदेशमा एकातिर नमुना संकलनमा मनलागी र अर्कातर्फ रिर्पोट आउन ढिलासुस्ती बढेको स्थानीयको गुनासो रहेको छ ।

आफू अनुकुलका मानिसको तुरुन्तै पीसीआर परीक्षण तथा रिर्पोट निकालिदिने तर सर्वसाधारणको रिर्पोट आउन महिनौ लगाउने भए पछि स्थानीयले नाताबाद र कृपावादले प्रश्रय पाएको भन्दै आलोचना गर्न थालेका छन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com