५ असार २०७७, शुक्रबार
  • दानबहादुर बुढा

मुगु, ५ असार । नेपाल सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनका निकै सास्ती भोगेका मुगालीहरुमा अब भने चहलपहल बढ्न थालेको छ । हिजोआज लकडाउन खुकुलो हुँदै गएपछि मुगुमा चहलपहल बढ्दै गएको हो ।

बिहान–बेलुका के खाने भन्ने विषयमा स्थानीय अन्यौलमा परेका थिए । कसैलाई त बिहान खाए बेलुका पुग्दैनथियो भने बेलुका खाए बिहान पुग्दैनथियो । लकडाउनको समयमा यहाँका नागरिकलाई निकै सकस परेको थियो । बिहान–बेलुका रोजीरोटी गरीखाने स्थानीयलाई त्यो पनि थिएन । बल्लतल्ल लकडाउन खुकुलो भएपछि आजभोलि दैनिकजसो खाद्यान्न लगायत अन्य लत्ता–कपडाहरु स्थानीय व्यापारी र ग्राहकबीच किनमेल भइरहेको छ । हातमुख जोर्ने बाटो खुकुलो भएको छ ।

लकडाउनको समयभरि सधैँ सुनसान रहेको सदरमुकाम गमगढी बजार यतिबेला बजार खुलेसँगै सवारी साधनहरु पनि चल्न सुरु भएपछि चहलपहल बढेको हो । अहिले दैनिकजसो मालबाहक सवारीसहित साना–ठुला दुइ दर्जनबढी गाडी गुड्न थालेको सवारी चालकहरूले बताएका छन् । जिल्लाभन्दा बाहिर अध्ययन, रोजगारीका लागि गएकाहरु आफ्नो गृहजिल्लामा भित्रिन थालेका छन् ।

मनसुन पनि सुरु भएसँगै धुलोले बनेको सडकखण्ड अहिले हिलाम्मे बनेको छ । सडक हिलाम्मे भएसँगै गाडी आवतजावतमा असहज भएको छ । कतै यात्रुहरुलाई नै ओर्लेर यात्रा गर्ने बाध्यता भएको छायानाथ रारा नगरपालिका वडा नं १३ लुम्सका यात्रु हरिदेवी विश्वकर्माले बताइन् । हरेक वर्षको झरीमा सडकमा पहिरो खसिरहन्थ्यो । सडक अवरुद्ध भएर आवतजावतमा असहज भैरहेको छ । वर्षामा हिलो र हिउँदमा धुलो उडेर असहज हुने गरेको मुहार अझै उस्तै भएको विश्वकर्माले दुखेसो पोखिन् ।

छायानाथ रारा नगरपालिकाभित्र पर्ने सडक खण्डका केही स्थानहरुमा ग्राभेल नै भएका छैनन् । सो सडक खण्डमै कहीँ बाटो फराकिलो छ भने कतै गाडी पास हुन नसक्ने साँघुरो छ । यतिबेला लकडाउन अनौपचारिक रुपमा खुलेपछि कर्णाली राजमार्ग जोड्ने नाग्म–गमगढी सडक खण्डमा सानाठूला गरेर दैनिक १० देखि २० वटा गाडी चल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV