५ असार २०७७, शुक्रबार
  • मनिराज पाण्डे

कालिकोट, ०५ असार । कोरोना परीक्षणका लागि कर्णाली प्रदेशका दुई स्थानीय तहले पीसीआर मेसिन खरिद गरेका छन् । दैलेखको नारायण नगरपालिकाले कोरोना परीक्षण गर्ने मेसिन खरिद गरिसकेको छ भने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले मेसिन खरिदका लागि बिहीबार सम्झौता गरेको छ ।

दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने गरी मेसिन खरिद् गर्न लागिएको चौरजहारी नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार मेसिन आएपछि रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण सहज हुने छ । नगरपालिकाले मेडिसोलुसन प्रालि काठमाडौंसँग १ हजार परीक्षण किटसहित मेसिन खरिदका लागि १ करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको हो ।

मेसिन सञ्चालन भएपछि आवश्यक्ताका आधारमा स्वाब संकलनका लागि किट खरिद गर्ने नगरपालिकाले जनाएको छ । स्वाब परीक्षणका लागि सुर्खेत पठाउँदा पालो नआउने समस्या देखिएपछि रुकुमसहित आसपासका जिल्लाबाट ल्याइएको स्वाब परीक्षणलाई तीव्रता दिइनेछ ।

अहिले रुकुम जिल्लाभरि झण्डै १ हजार ५ सय जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । रुकुममा संकलन गरिएको १ हजार १ सय ४६ जनाको स्वाबको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

मेसिन खरिदका लागि १ करोडको सम्झौता

कर्णालीमा प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनिएको दैलेखको नारायण नगरपालिकाले निर्वाचन क्षेत्र विकास कोषको रकमले पीसीआर मेसिन खरिद् गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको र परीक्षणमा ढिलाइ भएकाले नगरपालिकाले मेसिन खरिद गरेको हो ।

नारायण नगरपालिकाले १ करोड रुपैयामा मेसिन खरिदका लागि सम्झौता भएको जनाएको छ । मेसिन पुगेपछि स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान, जुम्ला र प्रदेश अस्पताल, सुर्खेत पठाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

नगरपालिकाले ३५ लाख रुपैयाँको मेसिन सहित झण्डै १ करोड रुपैयाँको उपकरण खरिद गर्ने तयारी गरेको छ । मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति काठमाडौंबाट ल्याउने तयारी भएको बताइएको छ । दैलेखका ११ वटा स्थानीय तहका क्वारेन्टाइनमा ३ हजार १७ जना बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV