५ असार २०७७, शुक्रबार

रुकुम पश्चिम, ०५ असार । चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ। घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो।

समितिले गत जेठ १० मा छजनाको मृ’त्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थितिलगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नाका साथै सल्लाहसुझावसमेत लिएको छ। सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको थियो भने समितिले यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट पुगेको हो। टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नाका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो। त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाका बारेमा जानकारी लिएको थियो।

सोती घटनाको छानबिनका लागि प्रतिनिभिसभाले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ। समितिका सदस्य एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादवलगायतको टोली घटनाको छानबिनका क्रममा रुकुम पश्चिममा छ।

यसअघि घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी काठमाडौंँ फर्केर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक गरी ६ युवाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न भएको आ’रोपमा ३४ जनावि’रुद्ध रुकुम अदालतमा मु’द्दा परेको छ।

तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना फ’रार छन्। बिहीबार प्रतिवादीको बयान सकिएपछि आज शुक्रबारदेखि अदालतमा उनीहरुको थुनछेक बहस सुरु हुँदैछ। रासस

LIVE TV