स्काउटमा ‘राजतन्त्र’ ढलेको दिन र युवाले घन्काएको परिवर्तनको गीत



प्रकाशित मिति : Jun 19, 2020
  • राजिव खत्री

संस्थाको हकमा जन्मनु, हिँड्नु र हिँडिरहनु पृथक कुरा रहेछ । कुनै संस्था जन्मन्छन् र स्थिर रहन्छन् मात्र होइन, कतिपय निष्प्राणप्रायः रहन्छन् । कुनै संस्था गतिशील बनेर हिँडछन् र हिँडिरहन्छन् । नेपाल स्काउट गतिशील हिँडाइ हिँडिरहेको संस्था हो । यस गतिशील संस्था स्थापनाको ६९ औं वर्ष पुगेको अवसरमा आम स्काउटलाई गौरव लाग्नु स्वाभाविक हो किनकि ६९ वर्ष लामो समय हो ।

स्थापनाकालदेखि नै आधार तयार गर्न स्काउटका हरेक अग्रजहरूले गरेको मिहिनेतलाई फर्केर हेर्दा अगाडि बढ्न ऊर्जासहितको सन्तुष्टि मिल्छ । स्काउट आफ्नो जन्मकाल २००९ साल असार ५ गतेदेखि आफ्नो गति पक्रेर समयको तह पार गर्दै ६९ औं वसन्त र शिशिर पार गरी यो अवस्थामा आइपुगेको छ । यो उमेरको कुरा मात्रै पनि होइन, सोच र क्रियाशीलताको हिसाबले हेर्ने हो भने पनि गौरवशाली संस्थाको सदस्य हुँ भन्दा घमण्डभन्दा पनि आत्मविश्वास प्रतीत हुन्छ ।

राजासहितको प्रजातन्त्रमा स्थापना भएर संघीय गणतन्त्रसम्म आइपुग्दा यस संस्थाको आरोह–अवरोह साँच्चै रोचक छ । हरेक आरोह–अवरोहको व्याख्या गर्न सकिँदैन तर स्काउटिङ अभियानभित्रको एउटा आन्दोलनको विषय उठान गर्न लाग्दैछु । आफू पनि सहभागी भएका कारण मात्रै त्यो आन्दोलन विशेष मानेको हैन, बरु त्यो आन्दोलनले बसाएको नजिर र गरेको परिवर्तनलाई दस्तावेजीकरण गर्न तथा नयाँ पुस्ताले त्यो रोमाञ्चक इतिहास थाहा पाउन् भन्नका लागि बिषय उठान गर्दैछु ।

एउटा भनाइ छ– ‘इतिहासले मानिसलाई केही पनि सिकाउँदैन, तर इतिहासलाई हेलचेक्राई गर्यो भने इतिहास वर्तमान बनेर अवश्य दण्ड दिन्छ ।’ आज यो विशेष दिनमा त्यो दिन एकपटक सम्झिने र सम्झाउने प्रयास गरेको छु ।
‘स्काउट विश्वासयोग्य हुन्छ’ एक नम्बर नियम मै विश्वासको खडेरी लाग्यो ।

घटना के थियो ?

कुरा २०७१ सालतिरको हो ।

हामीले आन्दोलनलाई हरेक कोणबाट अब्बल बनायौँ । साथी अनसन बस्यो । अन्तिममा सहमति भयो । तर ७६ घण्टाको आमरण अनसनपछि भएका सहमतिहरूमा आलटाल हुन थाल्यो । त्यतातर्फ काम नै नभएका भने थिएनन् । देखाउनलाई नै भन्नुपर्छ, आन्दोलन सकिएको केही समयसम्म सहमतिलाई कार्यान्वयन गर्ने भनेर काम सुरु भएको थियो । तर अर्को पक्ष, जो नेपाल स्काउटको नेतृत्वमा थियो, उसले बाध्यतावश ती कामहरू अगाडि बढाइरहेको थियो । ऊ केवल पातलो देखेर च्यात्ने वा मौका मिल्नेबित्तिकै पछाडि फर्किएर प्र–हार गर्ने समय कुरिरहेको थियो ।

वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाको संयोजकत्वमा ५ सदस्यीय ऐन–नियम मस्यौदा समिति गठन भएको थियो । संघर्ष समितिको तर्फबाट म र गुणराज प्याकुरेल सदस्य रहेका थियौँ । नेपाल स्काउटका तर्फबाट पुष्पलता भट्टराई र भरत साह थिए । आर्थिक छानबिन समितिमा रामप्रसाद भट्टराई थिए ।

हामी सहभागिता र पारदर्शीतामा विश्वास गथ्र्यौं । हामी केही मान्छेहरू मात्रै बन्द कोठामा बसेर ऐन–नियम बनाएर सबैलाई लाद्ने परिपाटीको विरोधमा थियौँ । यसैले अबको ऐन–नियम कस्तो हुनुपर्छ भनेर देशका विभिन्न स्थानमा छलफल चलायौँ । उपत्यकाकै पनि विभिन्न स्थानहरूमा छलफल भए तर त्यो सर्वस्वीकार्य भएन । स्काउटमा व्यापार र व्यापारमा भ्रष्टाचार गर्न पल्किएकाहरूलाई ऐन–नियम संशोधन स्वीकार्य थिएन । तिनीहरू ऐनमा नयाँ कुरा त के, भएका अक्षरलाई पनि दायाँबायाँ गर्न चाहँदैन थिए ।

त्यही क्रममा तत्कालीन प्रमुख आयुक्तको गृह जिल्ला ललितपुरमा सुझाव संकलन कार्यक्रम राखियो । हरिशंकर निरौला, गुणराज प्याकुरेल, पुष्पलता भट्टराई र म लगनखेलस्थित जिल्ला स्काउट कार्यालयमा थियौँ । जसै सुझाव कार्यक्रम सुरु भयो, केही व्यक्तिबाट नेतृत्वको भजन र हामीमाथि गालीको वर्षा हुन थाल्यो । सुझाव दिन चाहनेलाई कार्यक्रममा अघोषित निषेध गरियो ।

अपशब्द र अवरोधका बीचमा पनि शालिन एवं विद्वान वरिष्ठ अधिवक्ता हरिशंकर निरौला भन्दै हुनुहुन्थ्यो, ‘यो संस्थाको ऐन संशोधन हुनु जरुरी छ । जिल्ला प्रशासनमा दर्ता हुने क्लबको विधान यो भन्दा धेरै राम्रो हुन्छ, तर संसदबाट जारी हुने संस्थाको ऐन यस्तो हुन सक्दैन । त्यसैले ऐनमा केन्द्रित भएर छलफल गरौं ।’

तर, उहाँको कुरा सुनिएन । कार्यक्रम भद्रगोल बनाइयो । केही सीप नचलेपछि सुझाव कार्यक्रम त्यसै सकियो । अझ भनौँ, गालीमय भएर सकियो ।

अन्य स्थानमा यस्तो समस्या रहेन । संकलन गरिएको सबै स्थानबाट संकलित सुझावलाई एकीकृत गर्दै ३ दिनसम्म ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रमा बैठक बसियो । अन्तिम सुझावको अन्तिम स्वरुप बनाएर युवा तथा खेलकुद मन्त्रालय र नेपाल स्काउटमा बुझायौँ ।

त्यसैगरी छानविन समितिले पनि सुझावसहितको प्रतिवेदन बुझायो । यहाँसम्म कुराहरू बिथोलिएनन् । तर यसपछि धोका भयो । हामीले दिएका दुवै प्रतिवेदन कहाँ पुगे, अत्तोपत्तोसम्म भएन । कार्यान्वयन त धेरै परको कुरा भयो ।

लोगोमा श्रीपेच

यही बीचमा एउटा रमाइलो कुरा भयो । स्काउटमा राजतन्त्र गएन भन्ने शीर्षकमा मेरो लेख त्यति बेला धेरैले पढ्ने ब्लग पानीफोटोमा प्रकाशित भयो । मैले राजतन्त्रलाई आवधिकरुपमा परिवर्तन नहुने संस्थाको रुपमा उद्धृत गरेको थिएँ । पानीफोटोका ब्लगर गणेश कार्कीले सोही लेखलाई सांकेतिक अर्थ दिँदै नेपाल स्काउटको लोगोमा श्रीपेच लगाएको तस्वीर ब्लगमा राखेका थिए । ब्लग बिहानतिर प्रकाशित भएको थियो । सोही दिनको बेलुका गणेशलाई नेपाल स्काउटको मान्छे भन्दै कल आएछ ।

‘उसले लेखका बारेमा मसँग कुरा गरेन तर नेपाल स्काउटको लोगोमा भएको श्रीपेच नहटाएमा कानुनीरुपमा अफ्ठ्यारो पारिदिने धम्की दियो ।’ भेट हुँदा गणेशले सुनाएका थिए, ‘अरु केही कुराले नफसाए पनि प्रतिलिपि अधिकार हनन् गरेको भनेर दुःख देलान् भनेर फोटो चैँ हटाइदिएँ ।’

वास्तवमा न लेखमा खराबी थियो, न तस्वीरमा । खराबी ती मान्छेहरूमा थिए जो वर्षौँ वर्षदेखि नेतृत्वमा बसेका थिए र स्काउटमा साँच्चैकै राजतन्त्र चलाएका थिए । हाम्रो सदैव विरोध पनि त्यही सोचको विरुद्धमा थियो । हामीले कहिल्यै पनि व्यक्तिको विरोध गरेका थिएनौँ । हामीले विकृत पद्धतिको विरोध गरेका थियौँ । हामीले नेपाल स्काउटभित्र भएका विकृति विसंगतिका बारेमा मात्र कुरा राखेका थियौँ । स्काउट ऐन–नियमावली पुरानो र समय सापेक्ष भएन भनेका थियौँ । स्काउटमा भ्रष्टाचार र अनियमितता मौलायो भनेका थियौँ । स्काउटिंग युवाको लागि हो भन्ने विश्व स्काउटको मान्यता बुझिदेऊ भनेका थियौँ । छानबिन समितिले दोषी ठहर्याएकाहरूलाई कारबाही गर भनेका थियौँ । वास्तवमा हामीले ती कुराहरू गरेका थियौँ, जुन कुरा गर्छौँ भनेर उनीहरू नेतृत्वमा बसेका थिए ।

हामीले नेपाल स्काउटमा समस्या छ भन्यौँ । उनीहरूले हामीलाई नै समस्या देख्न थाले । हाम्रा जायज मागलाई पूरा गर्नु त कता हो कता, हाम्रा मागहरूलाई नै नाजायज कसरी बनाउन सकिन्छ भन्नेमा उनीहरूको ध्याउन्न थियो । हामीले उनीहरूको गलत प्रयत्नका विरुद्धमा धावा बोल्नै पर्ने अवस्था बन्यो । धावा कसरी बोल्ने ? हामीबीच छलफल भए ।

कालो स्कार्फ भर्सेज रातो स्कार्फ

हामीले कालो स्कार्फ लगाएर विरोध जनाउने निधो गर्यौँ । रंगी विरंगी स्कार्फहरू प्रदर्शन हुनुपर्ने नेपाल स्काउटमा हामीले कालो स्कार्फ लगाएर प्रदर्शन गर्न बाध्य भयौँ । यो बाध्यात्मक प्रदर्शन ती कुकामहरूको लागि थियो, जुन नेपाल स्काउटको नेतृत्वले गरिरहेको थियो । सायद उनीहरूले पनि हेक्का पाइसकेका थिए कि अबको हाम्रो धक्का अन्तिम धक्का हुनेछ । उनीहरू पनि पूर्ण तयारीमा थिए ।

हामीले कालो स्कार्फ प्रदर्शन गर्दै गर्दा परिवर्तन विरोधी पक्षधरले रातो स्कार्फ प्रदर्शन गरे । हो, हामी पनि कालो स्कार्फको घृणा गर्छौं, त्यसैले भ्रष्टहरूलाई इंगित गरेर काला कर्तुत भएकाहरूको अन्त्य गर्ने उद्देश्यस्वरुप कालो स्कार्फ अभियान संचालन गरिरहेका थियौँ । उनीहरूले प्रदर्शन गरेको रातो रंगको स्कार्फले यहाँ क्रान्तिकारिता प्रदर्शन गर्दैनथियो । बरु उनीहरू डराएको र संकटमा परेको जनाउँथ्यो । रातो रंग क्रान्तिको मात्र रंग होइन, यो खतराको पनि सूचक हो । उनीहरूको रातो रंगले हामीलाई थप उत्साह दिँदै थियो । हामी भन्थ्यौँ– ‘उनीहरूले खतराको संकेत गर्दै रातो देखाइसके । अब आत्मसमर्पणको रंग देखाउन पनि समय लाग्दैन । मात्र एउटा कुरा हामीले गर्न हुँदैन, हामी थाक्नु हुँदैन ।’

हामीलाई दोस्रो पटक आन्दोलन थप बलियोसँग योजनाबद्धरुपमा गर्न बाध्य पारिँदै थियो । नेपाल स्काउटको पद्धति परिवर्तनका बाधकहरू नहटाएसम्म नेपाल स्काउट परिवर्तन हुँदैन भन्ने कुरामा हामी दृढ हुँदै थियौँ । यही अनुसार हामीले घट्नै नसक्ने र पछाडि हट्नै नमिल्ने भन्दै अघिल्लो आन्दोलनका २६ बुदाँबाट घटेर अपरिवर्तनीय ३ बुँदे माग राखेर चरणबद्ध आन्दोलन गर्ने भयौँ ।

हाम्रो पहिलो माग प्रमुख आयुक्तको राजीनामा थियो । दोस्रो, स्वतन्त्र व्यक्तिको नेतृत्वमा तदर्थ समितिको गठन र तेस्रो थियो, ऐन–नियम समयानुकुल संशोधन ।

हामीले ज्ञापन पत्र तत्कालीन स्काउट प्रमुख युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौड्याललाई बुझायौँ । त्यससँग उपत्यकाका तीन जिल्लामा मागसहितको ब्यानर राख्ने कार्यक्रम सम्पन्न भयो । धर्नाका कार्यक्रमहरू सुरु भए । हामीलाई थाहा थियो, आन्दोलनका क्रममा घुसपैठ हुन सक्छ । सँगै लडिरहेका भन्दा पनि नजिकका देखिने गरी अरु आउन सक्छन् । हामी सबै किसिमका अवरोधहरूबाट बच्नु थियो । नभन्दै लैनचौरमा धर्ना चल्दै गर्दा केही व्यक्ति आएर आन्दोलनमा सहयोग गर्ने मनसाय व्यक्ति गरे । मलाई एक्लै बोलाएर नेपाल स्काउटलाई विज्ञप्ति दिनुपर्छ भन्ने सल्लाह दिन थालेँ ।

‘हाम्रो आशयको विज्ञप्ति हामीले लेखेर बुझाइसकेका छाैँ । तपाईहरूले चाहनुभएको माग आफै समेटेर लेख्नुस् न,’ मैले उनीहरूलाई प्रस्ट भनेको थिएँ । उनीहरूको गतिविधिमाथि हामीलाई शंका थियो ।

मबाट काम नबन्ने भएपछि उनीहरू हाम्रो समूह छोडेर अलिक पर पुगे । यता साथीहरू प्रमुख आयुक्तको राजीनामा माग्दै नारा–जुलुस लगाइरहेका थिए । एकाएक प्रमुख आयुक्त पछाडिको गेटबाट के भित्र पसेका थिए, अघिसम्म आन्दोलनमा हामी सहयोग गर्न चाहन्छौँ भन्ने तिनीहरू त आन्दोलनकारीलाई कारबाही गर भन्दै नारा पो लगाउन थाले । उनीहरू त्यसपछि यसरी सक्रिय भए कि झण्डै मुठ–भेडको अवस्था सृजना भएको थियो । हामीले त्यो चाहेका थिएनौँ । हामीलाई शान्तिपूर्ण आन्दोलनको सामथ्र्य थाहा थियो । हामीलाई आफूप्रति विश्वास थियो ।

आमरण अनसन

त्यसपछि आन्दोलनको तरिका परिवर्तन गर्नुपर्ने भयो । सबैको सहमतिअनुरुप गुणराज प्याकुरेल आमरण अनशनमा बस्ने भए । आमरण अनसन जोकोही बस्न तयार थियौँ । तर, आवश्यकता अनुरुपको भूमिकाका लागि अरु रहनु पर्ने भएकाले अरु नबस्ने भयौं । नेपाल स्काउटको मूलगेटमा आमरण अनशसन सुरु भयो । गेटमा चाबी नै लगाएर अनशन सुरु गर्ने भनिए पनि दैनिक काममा बाधा नपुर्याउने प्रहरीसँग सहमति भयो । स्काउट कार्यालयको नियमित काम चलिरहेको थियो भने हाम्रो तर्फबाट गुणराज प्याकुरेल आमरण अनसनमा हुनुहुन्थ्यो । त्यसपछि आन्दोलनको पक्षमा एउटा माहौल बन्न थाल्यो ।

आमरण अनसनको चौथो दिन स्काउट लिडर रमिला नगरकोटीले पनि महिला विभागको तर्फबाट भन्दै आमरण अनशन सुरु गर्ने भइन् । रमिलाले देखाएको साहसले सबै चकित भएका थियौँ । त्यही बीचमा फेरि वार्ताको क्रम सुरु भयो । आन्दोलनरत पक्षको तर्फबाट वार्ता टोलीमा राम, तरुण, सन्तोष र म थियौँ । मन्त्रालयमा हरेक दिन जस्तै विभिन्न चरणमा वार्ता भएका छन् तर माग पूरा हुने गुञ्जायस छैन । हाम्रा ३ वटा माग नै बटन लाइन भएको थियो । हामी ती मागका सम्बन्धमा पहिलेझैँ लचक हुन तयार थिएनौँ ।

दिन बित्दै गएसँगै हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउनेहरूको संख्या बढ्न थाल्यो । विभिन्न राजनैतिक दलका नेता, मानव अधिकारकर्मी तथा पत्रकारहरूको उपस्थिति पनि बाक्लिन थाल्यो । तर अनसनरत रमिला र गुणराजको स्वास्थ्य स्थिति भने खस्कँदै गएको थियो । आमरण अनशनको १६ दिन नेपाल स्काउटकी सहप्रमुख आयुक्त पुष्पलता भट्टराई, राष्ट्रिय सामुदायिक विकास आयुक्त मणि मल्ल, राष्ट्रिय परिषद सदस्य अनिता मानन्धरले संयुक्त राजीनामा घोषणा गर्नुभयो । साथै आन्दोलप्रति ऐक्यबद्धता समेत जनाउनुभयो । यसले नेपाल स्काउटका प्रमुख आयुक्तलाई राजीनामा गराउन ठूलै दबाव सृजना गराउँदै लगेको थियो ।

महिला विभागको प्रमुखको तर्फबाट राजीनामा आई सकेको र स्वास्थ्य स्थिति नजुक बन्दै गएका कारण रमिलाको अनशन तोडाउने निर्णय भयो ।

१७ औं दिन रमिलाले अनशन तोडिन् । उता, निभ्ने बेलाको बत्ती भनेझैँ बिबिसी लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा आफूले कुनै हालतमा राजीनामा नदिने भनेर अड्डी कसिरहेका थिए, प्रमुख आयुक्त ।

राजीनामा नदिने भए बर्खास्त गर्नुपर्छ भन्न थालेका थियौँ हामीले । तर कानुनमा व्यवस्था नभएको भन्दै मन्त्रीले बर्खास्त गर्न मानेनन् । ऐनमा स्काउटको संरक्षक प्रधानमन्त्री हुने र संरक्षकले दिएको आदेश पालना गर्नु नेपाल स्काउटको कर्तव्य हुनेछ भन्ने बुँदाको आधारमा रहेर बर्खास्त गर्न हामीले बाटो सुझाएका थियौँ । तर, प्रधानमन्त्री सुशील कोइराला भारत भ्रमणमा रहनुभएकाले तत्काल त्यो सम्भावना पनि थिएन । यसैले तत्कालीन अवस्थामा राजीनामा मात्रै विकल्प थियो ।

आमरण अनशन सुरु भएको १९ दिन भएको थियो । गुणराजको स्वास्थ्य अवस्था बिगँ्रदो थियो । यही बीचमा उनलाई २–३ पटक अस्पताल पु¥याउँदै ल्याइएको थियो । त’नाव बढ्दो थियो । गुणराज नखाएर बसेका छन्, हामी खाएर तर पीडा हामीलाई पनि कम थिएन् । हरेक दिन गुणराजको परिवारबाट दबाव आउँथ्यो र दिनसँगै यो पनि बढ्दो क्रममा थियो ।

हामीलाई वास्तवमै नैतिक समर्थनको खाँचो थियो । त्यो समयमा स्काउट लिडर अनन्त भेटुवाल सरले गर्नुभएको सहयोग म कहिल्यै भुल्न सक्दिनँ । हाम्रो अभिभावक भएर हाम्रो पक्षमा चट्टानझैँ प्रतिबद्ध भएर बस्नुभएको थियो । उहाँको प्रस्ट र निर्भिक व्यवहारले धेरै हौसला दिएको थियो । उहाँ मनको कुरा खुलस्त राख्नुहुन्थ्यो । अनावश्यक आश्वासन नदिने उहाँको बानीले हामीलाई भरोसा दिन्थ्यो । अनशनकै क्रममा नेपाल स्काउटका एक वरिष्ठ लिडरकोमा आन्दोलनका लागि सहयोग गर्न आग्रह गर्दै अनन्त सर, राम, सन्तोष र म घर उनकोमै पुग्यौँ ।

उनको बौद्धिकतालाई सम्मान गर्दै सरसल्लाह र मार्गदर्शनका लागि गएका थियौँ । तर घरको सोफामा बस्न नपाउँदै उनले ‘गुणराज मर्यो, सक्कियो । तिमीहरूले मार्यौ’ भन्दै पो कुरा सुरु गर्न थाले । उनी भन्दै थिए, ‘प्रमुख आयुक्तलाई तिमीहरूले चिनेकै छैनौ । उनले कुनै हालतमा राजीनामा दिँदैनन् ।’

सकारात्मक सुझावको अपेक्षा लिएर गएका हामी उहाँको कुराले निरास भयौँ तर गेटबाट बाहिर निस्कँदा ननिस्कँदै अनन्त सरले भन्नुभयो, ‘अहिले पनि प्रमुख आयुक्त युवाको अभियानमा नझुके नेपाल स्काउट माथि जान सक्दैन । हामीले हिम्मत हार्नु हुँदैन ।’

प्रमुख आयुक्तको राजीनामा र तदर्थ समिति

आमरण अनशनको २० औं दिन थियो । मन्त्रालयबाट फोन गर्दै एकजना कर्मचारीले भने, ‘तपाईहरू चाडै आउनु पर्यो । मन्त्रीज्यूले भेट्न खोज्नुभएको छ ।’

दिनको ३ बजेको हुँदो हो । म, राम, सन्तोष र तरुण कमलपोखरी स्थित युवा तथा खेलकुद मन्त्रालयतर्फ लाग्यौँ । पुग्नासाथ मन्त्रीका पीएले भित्र लिएर गए । बस्न नपाउँदै मन्त्रीले भने, ‘भन्नुस्, कसको नेतृत्वमा तदर्थ समिति बनाउने ?

जुँगा चल्यो, कुरो बुझ्यो । प्रमुख आयुक्तले राजीनामा दिएछन् । मन्त्रीले पुष्टि नगरे पनि हामी पक्का भयौँ । ‘राम्रो छवि भएका पूर्व प्रशासकहरूमध्ये जसलाई बनाए पनि हुन्छ’, रामले भने, ‘यत्ति हो– नेपाल स्काउट सफा गर्ने मान्छे चाहियो ।’

‘समितिमा को–को बस्ने हो, छलफल गर्दै गर्नुहोला । हामी फेरि भेट्छौँ’, मन्त्रीले भने ।

त्यहाँबाट बाहिर निस्किएर हामी नक्सालको एक क्याफेमा बस्यौँ । सुरुमै तरुणले केन्द्रीय संघर्ष समितिबाट कोही पनि तदर्थ समितिमा नजाऊँ भन्ने प्रस्ताव राखे । मैले उनको कुरामा समर्थन जनाउँदै हामीलाई सहयोग गर्ने अन्य साथीहरूलाई पठाऊँ भन्ने कुरामा जोड दिएँ । सन्तोष पनि नजाऊ, अरुलाई नै पठाएर हामी रचनात्मक भूमिकामा बसौँ भन्ने पक्षमा उभिएँ । तर, रामको विचार फरक थियो । उनले हामी आफै जानुपर्छ भन्ने मत राखे । उनको तर्क थियो, हामीले उठाएको मुद्दा पूरा गर्न भए पनि हाम्रो उपस्थिति जरुरी छ ।

रामको तर्क गलत थिएन । हामी आफै समितिमा बस्दा हाम्रा कुराहरू संस्थागत गर्न पहरेदारी गर्न सकिन्थ्यो । अनि हाम्रो तर्क पनि गलत थिएन । हामी आफै समितिमा बस्दा केवल पदका लागि यो सबै गरेको भन्ने सन्देश जाने सम्भावना हुन्थ्यो । हामीले विषय टुंग्याउन सकेनौँ । यस विषयमा बेलुका कोर टिमका सबै जना बसेर छलफल गर्ने र निर्णयमा पुग्ने सहमति भयो ।

लैनचौरमा धेरै साथीहरू हाम्रो पर्खाइमा हुनुहुन्थ्यो । मन्त्रीले राजीनामाको विषयमा खुलस्त कुरा नगरेको भएर हामीले केही सकारात्मक कुरा पाएका छौँ, भोलिसम्ममा तथ्य बाहिर आउने भन्ने कुरा मात्र बतायौँ ।

राती ९ बजेतिर अनशनरत स्थलमै संघर्ष समितिको बैठक सुरु भयो । रामले सुरुमै तदर्थ समितिमा जानुपर्ने अडान राख्दै कुरा राखे । आन्दोलनमा उठाएका मुद्दालाई स्थापित गर्न आफूहरूकै उपस्थिति जरुरी रहेको तर्कमा असहमति राख्ने ठाउँ पनि थिएन । उनले तर्कका क्रममा विभिन्न राजनैतिक दृष्टान्तहरू पनि राखे । मैले दिउँसो तरुणले राखेको प्रस्तावमा नै अडिग हुँदै जान नहुने कुरा राखेँ । हामीसँगै आन्दोलनमा सक्रिय रहेका शुभचिन्तक अग्रज तथा साथीहरू अन्नत सर, मणि सर, अर्जुन श्रेष्ठ, शम्भुराज शर्मा, विदुर गिरीहरूमध्येबाट पठाऊँ र हामी बाहिर ‘वाच डक’ भएर बसौँ भन्ने कुरा राखेँ ।

छलफल तथा तर्क–वितर्क हँुदै थिए । जाने र नजानेमा मौखिक भोटिङ्ग हुने भयो । जानेमा राम, तरुण, गुणराज र पुण्य देखिए । नजाने भन्नेमा म, सन्तोष र श्रीवत्स भयौँ । रोशन थिएनन् र उनको मत लिन सकिएन । पछिल्लो समय रोशनको सक्रियता अलिक कम भएकाले फोनबाटै सोध्ने भन्ने कुरा पनि आएन । विवाद भएका विषयमा हामी यसरी नै मत लिएर अघि बढ्थ्यौँ ।

तदर्थ समितिमा हामीहरू नै जानुपर्छ भन्ने साथीहरूको बहुमत भयो । क–कसलाई पठाउने भन्ने कुरा भयो । आमरण अनशनमा बसेको मान्छेलाई पठाउँदा सन्देश नराम्रो जाने भएकाले बाँकीबाट जाने कुरा भयो । प्राथमिकताका आधारमा क्रम मिलाएर राख्ने र जति जना मिल्छ सोही क्रमअनुसार समितिमा जाने कुरा भयो । जसअनुरुप राम, राजिव, पुण्य, श्रीवत्स, सन्तोष क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ गरेर राखियो । तरुण विदेश जाने योजनामा रहेकाले उनको नाम राखिएन ।

आमरण अनशनको २१ औं दिनका दिन, हाम्रो ३ बुँदे मागपत्र पूर्ण रुपमा कार्यान्वयन हुने सहमति भयो । प्रमुख आयुक्तले राजीनामा दिइसकेकाले केही दिनमै तदर्थ समिति गठन गर्ने भन्ने सहमति भयो ।

स्काउटमा ‘राजतन्त्र’ ढलेको खुसी

जुस खाएर आमरण अनशन तोडाइयो । खुशीको माहोल छाएको थियो । वर्षौंको संघर्षले मूर्तरुप पाएको थियो । लैनचौरमा अविर जात्रा नै भयो । स्काउटमा राजतन्त्र ढलेको महसुस भएको थियो । स्काउटमा युवाले घन्काएको परिवर्तनको गीतले पूर्णता पाएको थियो । सत्यलाई आग्रह गरेर गरिएको सत्याग्रहले जितेको दिन बनेको थियो ।

योसँगै फेरि एकपल्ट हामीले चाह्यौँ भने गर्न सक्छौँ भन्ने अनुभव गर्न पाइएको थियो । यो अनुभव रोमाञ्चक त थियो नै, सँगसँगै जिम्मेवारबोधक पनि थियो ।

आज स्काउटको वार्षिकोत्सवको अवसरमा म ती सबै परिवर्तनकारी मनहरूलाई सम्झना गर्छु, जसले कुनै न कुनै बखत स्काउटलाई अझ राम्रो बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निभाएका थिए ।

-लेखक नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com