नेपालमा काेराेना संक्रमण खराब बन्दै, अस्ट्रेलियालाई पनि उछिनेर माथि पुग्याे



प्रकाशित मिति : Jun 19, 2020

काठमाडौं, ५ असार । नेपालमा पछिल्लाे समय दैनिक रूपमा काेराेना संक्रमितहरू झन् बढ्दै गएका छन् । बिहीबार मात्र हालसम्मकै बढी ६७१ नयाँ संक्रमित पुष्टि भएसँगै नेपालले अस्ट्रेलियालाई समेत पछि पारेकाे छ ।

बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्याका आधारमा संसारका खराब मुलुकहरुको सूचीमा ७० औं स्थानमा रहेको नेपाल अस्ट्रेलियालाई पछि पार्दै  अहिले ६९ औं स्थानमा पुगेको छ । बिहीबार अस्ट्रेलियामा भने जम्मा २१ जना नयाँ संक्रमित थपिएकाे विभिन्न तथ्यांंक निकाल्ने संस्था वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

नेपालमा संक्रमित संख्या बढेसँगै खराब मुलुकको सूचीमा अस्ट्रेलिया नेपालभन्दा पछि परेको हो । नेपालमा अहिलेसम्म ७ हजार ८४८ जनामा संक्रमण पुष्टि भएकाे छ । अहिलेसम्म नेपालमा १ हजार १८६ जना भने निकाे भइसकेका छन् र ६ हजार ६४० जनामा अहिले काेराेना सक्रिय छ । उनीहरू उपचाररत रहेका छन् ।

संक्रमणका हिसाबले नेपाल अस्ट्रेलियाभन्दा माथि रहे पनि काेराेनाका कारण मृत्यु हुनेमा अस्ट्रेलिया अगाडि छ । हालसम्म नेपालमा काेराेनाबाट २२ जनाकाे मृत्यु भएकाे छ भने अस्ट्रेलियामा १०२ जनाकाे मृत्यु भएकाे छ । त्यहाँ कुल संक्रमित ७ हजार ३९१ पुगेका छन् । जसमध्ये ६ हजार ८७७ जना भने निकाे भइसकेका छन् । त्यहाँ अब ४१२ जनामा मात्र काेराेना सक्रिय रहेकाे जनाइएकाे छ ।

अस्ट्रेलियाले काेराेनामा नियन्त्रण कायम राख्न सकेकाे छ । गत मार्च महिनाकाे अन्तिमतिर त्यहाँ संक्रमण दर उच्च स्थान पुगेकाे थियाे । एकै दिन बढीमा ५३७ सम्म नयाँ संक्रमित फेला परेकाे अस्ट्रेलियामा त्यसयता दैनिक संक्रमणका घटना न्यून हुँदै अाएका छन् ।

नेपालकाे संक्रमण गति यसरी नै बढ्दै जाने हाे भने सुडान र मलेसिया लगायत देशहरूलाइ पनि चाँडै पछि पार्नेछ । सुडानमा पछिल्लाे समय काेराेना संक्रमण शून्यप्राय देखिएकाे छ । त्यहाँ हालसम्म ८ हजार २० जनामा संक्रमण पुष्टि भएकाे छ । उता मलेसियामा पनि कुल संक्रमित संख्या ८ हजार ५२९ पुगेका छन् । पछिल्लाे २४ घण्टामा त्यहाँ १४ नयाँ संक्रमित फेला परेका छन् भने हालसम्म १२१ जनाले ज्यान गुमाएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com