हाम्रा पाइला समृद्ध देश निर्माण र जनतालाई सुखी बनाउने काममा तालबद्ध छन् : प्रधानमन्त्री ओली



प्रकाशित मिति : Jun 19, 2020

काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा तालबद्ध रुपमा अग्रसर रहेको बताउनुभएको छ ।

आज नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा उहाँले अबको नयाँ पिँढीले देश विकास गर्ने बताउनुभयो ।

बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ (सन् १९५२) मा स्काउट अभियानको सुरुवात भएको थियो । नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको उत्साहजनक सांगठनिक विस्तार भइरहेको छ ।

‘बालबालिकारुमा सानै उमेरदेखि साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वयंसेवी भावनाको विकासमा नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘यसैले देशलाई संकट परेका बेला उद्धार, राहत लगायतका स्वयंसेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिँदै आएको छ । विद्यमान कोभिड– १९ को विश्वब्यापी महामारीमा पनि देशैभरिका स्काउट स्वयंसेवकहरु खटिँदै आएका छन्, यस प्रशंसनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

आज मुलुकले लिएका उद्देश्यहरु, देशले लिएको बाटो, देशले अपनाएका नीतिहरु र सरकारले निर्धारण गरेका आजका लक्ष्यहरु स्काउटका उद्देश्यहरुसँग मिल्दाजुल्दा रहेको समेत उहाँले बताउनुभएको छ ।

‘आजको सरकार युवाहरुको साथमा छ । आजको सरकार स्काउटको साथमा छ । आजको सरकार बालवालिकाहरुको साथमा छ । म तपाईंहरुको साथमा छु । हामीले लामो समय संर्घष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौँ र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरु स्थापना गरेका छौँ,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएका छौँ । त्यसैले अब हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो । हाम्रा हरेक पाइला समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा तालवद्ध रुपमा अग्रसर छन् ।’

विकास र समृद्धिको यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालवद्ध प्रयास सहयोगी हुनेमा प्रधानमनत्रीको विश्वास रहेको छ । ‘प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौँ,’ उहाँले भन्नुभएको छ, ‘नेपाललाई हामी गरिवीबाट सम्पन्नतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौँ । केही वर्षभित्र नेपाललाई सम्पन्न राष्ट्रको रुपमा चिनाउन हामी कृतसंकल्पित छौँ । नेपाल स्काउटमा आवद्ध अनुशासित हाम्रो नयाँ पिँढीका प्रयासहरुले यस जीवनमय र उर्भर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने छ भन्ने मेरो विश्वास छ ।’

स्काउट बालाबालिका र युवाहरुका लागि काम गर्ने संस्था हो । प्रधानमन्त्रीले यसको संरक्षकका रुपमा काम गर्ने व्यवस्था छ । स्काउट र बालाबलिकाहरुको समस्या, गुनासा, जिज्ञासा र सुझावहरुलाई प्रत्यक्ष बुझ्न आफ्नै उपस्थितिमा ‘बालबालिका सँग प्रधानमन्त्री’ कार्यक्रमको सुरुवात गरी हरेक वर्ष यसलाई निरन्तरता दिइएको समेत प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

उहाँले देशका हरेक विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गर्नुभएको छ । ‘विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमै स्काउट शिक्षालाई समेटी अब हरेक बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी छ,’ शुभकामना सन्देशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com