ककनी गाउँपालिकाले आफू अनुकूल व्यक्तिलाई मात्र मिनीटिलर वितरण गरेको कृषकको गुनासो



प्रकाशित मिति : Jun 18, 2020

नुवाकोट, ४ असार । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को अनुदानमा वितरण गर्न लागेको मिनीटिलर (खेत जोत्ने हाते ट्याक्टर)मा व्यापक दुरुपयोग भएको स्थानीयले गुनासो गरेका छन् ।

हाते ट्याक्टर प्राप्त गर्ने कृषकको छनोट गर्दा वास्तविक कृषकलाई छनोट नगरी सबै वडाका नागरिकहरूलाई गुमराहमा राखेर गाउँपालिकाले आफू अनुकूल र आफ्नो पार्टीसँग सम्बन्धित व्यक्तिहरूलाई मात्र वितरण गरेको स्थानीयले गुनासो गरेका हुन् ।

ककनी गाउँपालिकाले आफ्नो ५० प्रतिशत अनुदान रकम र सम्बन्धित कृषक, कृषि सहकारी तथा कृषि फर्मको ५० प्रतिशत रकममा कृषि उपकरण मिनीटिलर वितरण सुरु गरेको भएतापनि लाभग्राही समूहलाई सूचना नै नदिर्ई आफूखुसी सीमित आफ्ना अनुकूलका कृषक समूह छनोट गरी वितरण गरेको पाइएको हो ।

हालै ककनी गाउँपालिका र हेकोरानीपौवा बजारमा ४० वटा मिनीटिलरहरू वितरण गरिएको थियो । उक्त वितरण कार्यमा गाउँपालिकाका अध्यक्ष मान बहादुर लामा तथा उपाध्यक्ष सीता खतिवडा लामा लगायतको उपस्थिति रहेको थियो ।

मिनिटिलर वितरण गर्ने सूचीमा सबै वडाबाट निष्पक्ष रूपमा नामावली संकलन गरी आवश्यकता र उपयोगिताको अध्ययन गरी वितरण गर्नुपर्ने थियो, तर त्यस्तो गरेको पाइएन । वितरण कार्य पनि गुपचुप गरियो, जसले वास्तविक कृषकहरू मिनीटिलर पाउनबाट बञ्चित भएका छन् ।

गाउँपालिकाका अध्यक्षको हातबाट वितरित उपकरणमा पनि काख र पाखको अवस्था आएपछि काम विशेषले रानीपौवा पुगेका कृषकहरूले मिनीटिलर वितरणका बारेमा चासो राखेका थिए ।

दर्जनौं कृषकहरू जम्मा भएर ‘यो मिनीटिलर क-कसले पाउने हो ? हामी पनि कृषक प्रतिनिधि हौं । तर, हामीले चाँहि किन जानकारी किन पाएनौं ?’ जस्ता प्रश्नहरू सोध्न थालेपछि त्यहाँ उपस्थित कर्मचारी, प्रशासकीय अधिकृत तथा गाउँपालिका प्रमुख जवाफ विहीन भएर एउटा-एउटा बाहना बनाएर त्यहाँबाट हिँडेका थिए ।

प्रमुख हिँडेपछि उपस्थित कृषकहरू आक्रोसित मुद्रामा त्यही प्रश्न लिएर उपाध्यक्षकहाँ गएका थिए । उनीहरूले मिनीटिलर वितरणको मापदण्डका बारेमा सोधेका थिए । उपाध्यक्षले ‘मापदण्ड बनाएर नामावली पेश गर्न वडालाई भनेका थियौं । पालिकालाई सबै किसानको अवस्था थाहा हुँदैन’ भन्दै तर्किएकी थिइन् ।

पत्रकारसँग कृषकहरूले पोखे गुनासो

ककनी गाउँपालिका वडा नम्बर ६ मदानपुरका सक्रिय कृषक अर्जुन पाठक गाउँमै व्यवसायिक कृषि कर्म गरिरहेका छन् । मदानपुरको तल्लो बेल्ट ढुङ्गेबेसी घर भएका पाठक कुलोको काम लिएर आइतबार अफिस टाइम मारानीपौवा पुगेका थिए ।

सोही समयमा केही व्यक्तीहरूले धमाधम मिनिटिलर बुझिरहेको देखेपछि उनी पनि के रहेछ भनेर हेर्न पुगे । उनी आफू प्रायःजसो पालिका र वडा कार्यालय गइरहने भए पनि अनुदानमा मिनिटिलर वितरण गरिने बारे कहिल्यै नसुनेको र आफ्नो घर क्षेत्रका कसैले पनि मिनिटिलर नपाएको सुनाए ।

उनले गुनासो गरे, ‘गाउँ पालिका र वडा कार्यालयले सूचना लुकाएर आफूखुसी आफ्ना मान्छेहरूलाई मात्र मिनीटिलर बाँड्ने काम भयो ।’

पाठक आफ्नो गुनासो लिएर पालिका अध्यक्षलाई भेट्न गए तर भेट्न सकेनन् । बल्ल तल्ल उपाध्यक्षलाई भेटेर मिनीटिलर वितरणको मापदण्डका बारेमा सोध्दा उपाध्यक्ष खतिवडाले ‘कृषक समूहको छनोट भइसकेकाले यसमा आफूले केही गर्न नसक्ने, वडाबाटै नागरिकलाई जानकारी दिनुपर्ने भएपनि वडाको कमजोरी भयो’ भन्ने टालटुले जवाफ दिएको पाठकले गुनासो पोखे ।

विवादको जानकारीपछि सञ्चारकर्मी मिनीटिलर बाँड्न लागेको ठाउँमा पुगेर कृषि शाखाका कर्मचारी रवीन्द्र पाण्डेलाई ‘के आधारमा अनुदानमा मिनीटिलर बाँडिदैछ ? आफूलाई मन मर्ने समूहलाई मात्र अनुदान दिँदा बजेटको दुरुपयोग भएनर ?’ भन्ने प्रश्न गरेका थिए ।

पाण्डे भने यसबारे वडाध्यक्ष पुष्कर बोगटी र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई मात्र थाहा हुने जवाफ दिएर पन्छिएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com