भक्तालुहरुले भगवानको नाममा दान दिएको डेढ करोड बढी रुपैयाँ गायब !



प्रकाशित मिति : Jun 18, 2020
  • माधव गैरे,

स्याङ्जा, ४ असार । नेपालका केही सामाजिक कार्य गर्नु परे रकम संकलन गर्ने सजिलो माध्यम हो–महायज्ञ । भक्तालु र श्रद्धालुहरुले खुलेर दान दिन पछि पर्दैनन् महायज्ञमा ।
तर यसरी दिएको दानको पनि हिनामिना हुन थालेपछि दाताहरुको मन अडिने ठाउँ भत्किन थालेको छ, यस्तै भएको स्याङ्जामा ।

२०६८ साल कात्तिक १८ गतेदेखि २५ गते स्याङजाको राम्दीमा भएको महायज्ञको हिसाब किताब सार्बजनिक नभएको भन्दै सरोकारवाला पक्षहरुले पत्रकार सम्मेलन गरेका छन् ।
स्याङजाको राम्दीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाताहरुबाट दिएको दानबाट १ करोड ६६ लाख ४० हजार २ सय ४३ उठेको र संकलित सबै रकम हिनामिना गरिएको दावी गरिएको छ ।

उनीहरुले संकलित रकमको हालसम्मको व्याज १ करोड ४१ लाख ४४ हजार २ सय ६ रुपैयाँसहित ३ करोड ७८ लाख ४४ हजार ४९ रुपैयाँ हुनु पर्ने माग समेत राखेका छन ।

पत्रकार सम्मेलनमा जारी बिज्ञप्तीमा चन्दा दाताहरुले हिसाब किताब माग गर्दा केही दिनमा सार्बजनिक गर्छौ भन्दै पटक पटक प्रतिबद्धता व्यक्त गरे पनि त्यस तर्फ कुनै कार्य नभएको भन्दै २०७६ फागुन २९ गते गल्याङ नगरपालिकाको न्यायिक समितिमा ठगी गर्ने व्यक्तिहरुलाइ कारवाही गरी पाउँ भनि निबेदन दिएको उल्लेख गरिएको छ ।

उक्त न्यायिक समितिबाट कारवाहीको प्रकृया अगाडि नबढेकोले कानूनी उपचारको लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त समेत दिइएको उल्लेख गरिएको छ ।

महायज्ञमा संकलित रकम अस्तव्यस्त पारिएकोले उठेको रकम खोज गरी आबश्यक कारवाही गरी भौतिक निर्माण कोषमा महायज्ञबाट संकलित रकम सार्बजनिक गर्न गल्याङ नगरपालिकाको बिभिन्न वडामा निबेदन दिइएको पनि विज्ञप्तीमा उल्लेख गरीएको छ ।

महायज्ञबाट विकासका लागि गुरुयोजना तयार पारी उल्लेखित क्षेत्रलाई व्यवस्थित मसानघाट, स्नान घाट, गौशाला, पुस्तकालय निर्माण गरिने विश्वास दिलाएर रकम उठाइएको र उक्त रकम दाताहरुलाई भ्रममा पारी उल्लेखित कार्य नगरी उल्टै महायज्ञमा उठेको रकम व्यक्तिगत लाभमा दुरुपयोग गरिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महायज्ञको मूल समितिको संयोजक दिलिपप्रताप खाँड, महासचिव नवीन पाण्डे क्षेत्री, र कोषाध्यक्ष श्याम प्रसाद बस्याल रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com