४ असार २०७७, बिहीबार
  • बालबिक्रम कार्की,

रौतहट, ४ असार । नेपाली सेनाको बम डिस्पोजल टोलीले रौतटहको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा फेला परेको ३ वर्ष पुरानो बम डिष्पोज गरेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर परिसरमा फेला परेको सो बम नेपाली सेनाको ईन्द्रबक्स गणको टोलीले करिब ६ घण्टा लगाएर डिस्पोज गरेको हो । स्टीलको टिफिनको बट्टाभित्र अत्यन्त विष्फोटक पदार्थ डेनोनेटरसहित राखिएको सो बम करिब ३ वर्ष अघिको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

वि.सं. २०७४ मसिर १ गते तत्कालीन एमालेको चुनावी सभालाई लक्षित गरी नेत्र बिक्रमचन्द (विप्लव) समूहले मन्दिर परिसरमा राखेको एउटा बम विष्फोट हुँदा बालबालिका सहित ८ जना घाइते भएका थिए ।

यो बम पनि सोही बेला राखेको हुन सक्ने इलाकाप्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिनुभयो । सो बेला बिष्फोटन नभएर बसिरहेको बम अहिले भेटिएको हुनसक्ने उहाँको आशंका छ ।

‘बम भेटिएपछि हामीलाई स्थानीयलाई खबर गरे अनि हामीले नेपाली सेनालाई’ उहाँले भन्नुभयो, ‘करिब ३ वर्ष अगाडि सोही स्थानमा बम विष्फोटन भएकाले यो बमपनि त्यही बेला राखिएको हुनसक्छ । यस बारेमा हामी थप अनुसन्धान गर्दैछौँ ।’

सो मन्दिरमा पर्खाल लगाउने क्रममा खाल्टो खन्दा मजदुरले बम फेला पारेका हुन् । सुरुमा खाल्टो खन्दा ब्याट्री जस्तो देखेपछि आफुले त्यसलाई निकालेको उहाँ बताउनुहुन्छ । चारैतिर तारले बेरेको अवस्थामा भेटिएको सो वस्तु बम भन्ने आफुले सोच्दै नसोचेको उहाँ बताउनुहुन्छ ।

‘सुरुमा कुनै मोटरको व्याट्री जस्तो लागेर हातले बिस्तारै निकालेर अरुलाई देखाए’उहाँले भन्नुभयो, ‘अरुले बम हुनसक्छ भनेपछि सुरक्षित राखेर प्रहरीलाई खबर ग¥र्यौ । नभन्दै साच्चिकै बमनै रहेछ ।’

मन्दिरको पार्खाल निर्माणका लागि जग खन्ने क्रममा मजदुरले फेलापारेको सानो आकारको बमलाई उठाएर मन्दिरमै रहेको चौतारीमा राखेका स्थानीय बिनिता बख्रेलले जानकारी दिनुभयो । ३ वर्ष अघि सो स्थानमा बम विष्फोट आफू पनि त्यहीँ रहेको स्मरण गर्दै उहाँले यो बमपनि सोही बेला राखिएको तर नपड्किएको हुनसक्ने आशंका गर्नुभयो ।

मन्दिर परिसरमा बक भेटिएपछि स्थानीय भने त्रसित भएका थिए भने पर्खाल निमार्णको काम पूर्ण रुपमा रोकिएको छ । स्थानीयले सो स्थानमा अरु बम पनि हुन सक्ने भन्दै एकपटक राम्रोसँग परीक्षण गर्न माग गरेका छन् ।

यति लामो समयसम्म पनि सो बम विष्फोट नभइ रहनुको कारणमा त्यसभित्रको कुनै सामानमा खराबी आइ काम नगरेको हुनसक्ने प्रहरीको अनुमान छ । सो मन्दिर परिसरमा लकडाउन अघि दैनिक सयौँको संख्यामा मानिसहरु ओहोर दोहोर गर्ने गरेका थिए ।

मन्दिरमा पनि पूजा गर्न भक्तजनहरुको दैनिक रुपमा बाक्लै उपस्थिति हुन्थ्यो । सो मन्दिर वरिपरि चन्द्रपुर सरकारी अस्पताल, वडा कार्यालय, एफएम रेडियो, पशु कार्यालय, विद्यालय रहेका छन् ।

सो मन्दिरमा प्रत्येक वर्ष कृष्णाष्टमीमा ठूलो मेला लाग्ने गरेको छ । सो मेलामा सयौँको संख्यामा सर्वसाधरणको सहभागिता रहने गरेको छ । यदि सो बम अन्यबेला विष्फोट भएको ठूलो जनधनको क्षति पुग्ने निश्चित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV