
काठमाडौं, ४ असार । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । नयाँ नक्सालाई आधिकारिकता दिन पेश गरिएको नेपालको संविधान दोस्रो संसोधन विधेयक राष्ट्रियसभाबाट बिहीबार सर्वसम्मतिले पारित भएको हो ।
आज भएको राष्ट्रियसभाको बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छापसम्बन्धी संविधान संसोधन विधेयक अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सर्वसम्मत पारित भएको घोषणा गनुर्भयाे ।
आज बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयाे । विधेयक पारित हुनु अघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।
आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना अब प्रतिनिधिसभालाई दिनेछ ।
आज राष्ट्रियसभाबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कामकाजको लागि निशान छाप प्रयोगमा आउने छ।