नेपालमा विकेन्द्रीकरण नीतिका द्रष्टा एवं निष्ठाका प्रतिमूर्ति सुदर्शन आचार्य



प्रकाशित मिति : Jun 18, 2020
  • प्रा.डा. धनेश्वर नेपाल

समाजमा जहिले पनि दुई थरि मानिसहरु हुन्छन् । एकथरि मानिस केवल आफ्नो र आफ्नो परिवारको स्वार्थमा नै रुमल्लिएका हुन्छन् । केवल निजी भौतिकसुविधा, ऐसआराम, सुख प्राप्ति एवं अर्थसञ्चयका निम्ति नै प्रयत्नशील रहन्छन् र उनीहरुलाई आफू जन्मेको माटो, देश र राष्ट्रियता कुनै पनि कुराको प्रवाह हुँदैन । अर्कोथरि उदात्त चरित्रका मानिसहरु हुन्छन् जसले आफ्नो परिवार एवं नाताकुटुम्बको संकीर्ण दायराबाट माथि उठेर वसुधैव कुटुम्बकम्को आदर्श अनुरुप समाज र राष्ट्रको सर्वोपरि हितलाई नै जीवनको लक्ष्य बनाएका हुन्छन् ।

व्यक्तिगत इच्छा, आकांक्षा प्राप्ति र परिपूर्तिको उद्देश्यमा रुमल्लिएको जीवन साँघुरो दायरमा अडेको हुन्छ । त्यस्ता मानिसको जीवन आत्मकेन्द्रित वा त्योभन्दा माथि पारीवारिक वृत्तको परिधिमा मात्र सीमित हुन्छ र दूरगामी बन्न सक्दैन । जसले वैयक्तिक आकांक्षा र अभिलाषा प्राप्तिलाई नै जीवनको लक्ष्य हो भन्ने ठान्दछ त्यस्तो जीवनलाई सार्थक मान्नसकिदैन । त्यस्ता मानिसहरु यो संसारमा कति जन्मिन्छन् र मर्छन् तिनको कुनै गणना हुँदैन । छोटो जीवन बाँचेर पनि जीवनको सार्थक लक्ष्यसम्म त्यस्ता व्यक्तिहरु पुग्नसक्छन् जसले मानवीय मूल्यबोध, समाज र राष्ट्रिय हितका लागि किञ्चित भए पनि कार्य गरेका हुन्छन् । दीर्घ जीवन बाँचेर पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवहितमा केही काम गर्न नसक्ने व्यक्तिहरुको जीवन सार्थक हुँदैन । यस्तो जीवनको सारमा कुनै अर्थ रहँदैन ।

नेता सुदर्शन आचार्य

२०१३ सालको चैत्र महिनामा जन्मिएका नेपाली काँग्रेस महासमितिका सदस्य आदर्शवादी व्यक्तित्व समाजसेवी सुदर्शन आचार्यको ६२ वर्षको अल्पायुमा नै २०७५ साल आषाढ ७ गते निधन भयो । भनिन्छ ईश्वरले पनि राम्रा मान्छेलाई चाँडै खोस्छन् । अब उहाँ ब्रह्मलीन भइसक्नु भएको छ । उहाँले अपेक्षाकृत छोटो जीवन बाँचेर पनि देश र समाजको हितमा केही काम गरेर जीवनको सार्थकता प्रस्तुत गर्नुभएको छ । निष्कामकर्ममा समर्पित आचार्य शास्त्रमा बताइएझैं एक ज्ञानी पुरुषकै साश्वत रुप हुनुहुन्थ्यो —
यस्य सर्वे समारम्भाः कामसङ्कल्प वर्जिता ।
ज्ञानाग्निदग्धकर्माणां तमाहुः पण्डितं बुधा ।।

लोकतन्त्रका हिमायति

समाज, राष्ट्र, राष्ट्रियता, मानवीय मूल्य पद्धति एवं लोकतान्त्रिक संस्कार र संस्कृतिको पक्षमा सच्चा दिलले चिन्तन मनन गर्ने र त्यसलाई मूर्त रुप दिन आफ्नो जीवन नै अर्पण गर्ने अनेकौं सपुतहरु हाम्रो देशमा जन्मिए । नेपाली काँग्रसको सुनौलो इतिहासलाई स्मरण गर्दा करिब ७ दशक लामो संघर्षमय गाथाको कालखण्डमा यस्ता सयौं सपुतहरुको नाम गर्वका साथ स्मरण गर्नुपर्ने हुन्छ ।

गौरवशाली पार्टीको लामो संघर्षमय यात्राको क्रममा क्रान्तिको ज्वारभाटा बनेर हाँसीहाँसी प्राणको आहुती दिने सपुतहरु देखि लिएर पार्टीको सिद्धान्तप्रति चट्टानझैं उभिने तथा इमान्दारिता, प्रतिबद्धता एवं मूल्यमान्यताको राजनीतिक संस्कारयुक्त नेताकार्यकर्ताहरु पनि लोकतान्त्रिक इतिहासको महत्वपूर्ण हिस्सा बनेर रहेका छन् ।

हजारौं कार्यकर्ताहरुको साहस, समर्पण उनीहरुको उत्सर्ग, आस्था, आदर्श र सिद्धान्तप्रतिको गहिरो प्रतिबद्धता, निष्ठा र समर्पण भाव आदिका कारण नै नेपाली काँग्रेस एउटा ऐतिहासिक एवं गौरवशाली पार्टीका रुपमा स्थापित हुनसकेको हो । यस्ता गौरव गर्न लायक भुल्नै नसकिने निष्ठा, आदर्श र प्रतिबद्धताका हिमायति नेताहरुको लहरमा सुदर्शन आचार्यको नाम पनि आउँछ । उहाँ पार्टीको पोखरा महाधिवेशनबाट हालसम्म लगातार महासमितिको सदस्य हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जाँदा पटक पटक गरी ४८ दिन जेलको सजाय भोग्नु भएको थियो ।

लेखक

लोकतन्त्र आएपछि सत्ताको आडमा कतिपय नेताहरु पुस्तौंपुस्तालाई पुग्ने गरी सम्पत्तिको जोहो गर्नेतिर लागे, चप्पल लगाएर हिंड्ने नेताहरु गाडी र बंगलाको सुविधा भोग गर्ने नवधनढ्यमा रुपान्तरित पनि भए । सिद्धान्त र आदर्शलाई विर्सिएर निजी स्वार्थको पछाडि कुद्न थाले । निरंकुशताको विरुद्ध लड्दा हजारौं सपुतहरुले दुखकष्ट र भयानक यातनाहरु भोगेको र सच्चा इमान्दार कार्यकर्ताहरुले रगतका थोपाथोपा सिञ्चित गरी लोकतन्त्रका खातिर प्राणको आहूति दिएको क्रान्तिकारी इतिहास पनि नेताहरुले विर्सिए । निष्ठावान्, स्वाभिमानी, इमान्दार र सिद्धान्तनिष्ठ नेताकार्यकर्ताहरुको मानमर्दन गर्दै नातावाद, कृपावाद चाकडीवाद र अवसरवादी चरित्रलाई प्रश्रय दिने अनि पार्टीको टिकट वितरणमा पनि इमान्दार र लोकप्रियता भएकालाई नदिई धनवाद र डनवादलाई रोज्ने तथा पार्टीको नेतृत्व र सत्तामा रहेका बेला आफ्नो गुट बलियो बनाउने होडबाजीमा नेताहरु लाग्न थाले ।

इमान्दार कार्यकर्ताहरुको मूल्यांकनको त के कुरा उनीहरुलाई घरको न घाटको बनाइयो । त्यसैको परिणति हो नेपाली काँग्रेसले अहिले भोगिरहेको नियति अनि हविगत । नेताहरुले यी कुरालाई नरुचाउलान्, औषधि तितै हुन्छ तर वास्तविक सत्यता यही नै हो ।

निष्ठाका प्रतिमूर्ति

सुदर्शन आचार्य पनि निष्ठावान्, स्वाभिमानी, आदर्श र सच्चा सिद्धान्तवादी, आर्थिक रुपमा कमजोर, चाकडीमा भन्दा कर्ममा विश्वास गर्ने, लोभिपापी नभएकै कारण नेताहरुको दृष्टिबाट ओझेलमा परेका नेता हुन् भन्दा फरक नपर्ला । जनतामा लोकप्रिय र पार्टीमा योगदान हुँदाहुँदै पनि उनको उचित मूल्यांकन भएन । पछिल्लो पटक भएको आमनिर्वाचनमा पनि काठमाडौं क्षेत्र नं ७ मा सबैभन्दा जनअपेक्षित र बलियो दाबेदारको रुपमा रहँदा रहँदै पनि उहाँलाई संघ र प्रदेश दुबै तहको निर्वाचनमा टिकटबाट वञ्चित गरियो ।

हाम्रो राजनीतिक बजारमा जीवित छँदा व्यक्तिको मूल्य र योगदानको कुनै कदर नगर्ने तर मृत्युपछि प्रशंसा, गुणगान, र प्रशस्ति गाउने प्रचलन अधिक छ । सुदर्शन आचार्य दिगंवत भएको तहौं दिनको स्मृति सभामा लेखक पनि सहभागी भएको थियो र त्यहाँ पनि मृत्युपछिको स्तुति सुनियो । उक्त सभामा नेपाली काँग्रेसका स्वनामधन्य नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिँह, अर्जुननरसिंह के.सी., रामशरण महत र प्रकाशशरण महत, नविन्द्रराज जोशी आदिले जमेरै सुदर्शनजीको व्यक्तित्व र उहाँको योगदान बारे प्रशंसा गरिरहँदा लेखकलाई भने कताकता नमिठो अनुभव भइरहेको थियो ।

नेताहरुले उहाँजस्तो व्यक्तिलाई न्याय गर्न नसकिएको र निर्वाचनमा टिकट दिन नसकेको प्रति आत्मालोचित हुँदै उहाँले थालनी गरेको रंगशाला निर्माणको अधुरो कार्यलाई पूरा गर्न आफूहरु लागिपर्ने प्रण पनि गरेका थिए । व्यक्ति जीवित छंदा बेवास्ता गर्ने, उसको योगदानको कदर नगर्ने र मृत्युपछि उसको अनुपस्थितिमा गुणगान गाउने प्रवृत्ति सबै पार्टी र समाजका सबै तहमा छ । अब पनि नेताहरु सुध्रिएनन् भने उनीहरुको क्रियाकलापबाट पार्टीको दुर्दशा त हुने नै छ । लोकतन्त्रमाथि आस्था राख्ने सबैको कन्तविजोग पनि हुनेछ ।

शिक्षा र समाजसेवी व्यक्तित्व

सुदर्शन आचार्य एक समाजसेवी र शिक्षाप्रेमी व्यक्ति हुनुहुन्थ्यो । मूलतः राजनीति र समाजसेवामा नै उहाँले आफ्नो सम्पूर्ण जीवन व्यतित गर्नुभएका कारण आफ्नो घरपरिवारसित सुखदुख बाँढ्ने समयसमेत पाउँनु भएन । उहाँ बस्ने घर र परिवारको जीवनशैलीलाई हेर्दा उहाँले व्यक्तिगत र पारिवारिक समृद्धिलाई उपेक्षा गरेको स्पष्ट हुन्छ । उहाँले राजनीतक शास्त्रमा स्नातकोत्तर तह र संस्कृत शिक्षातर्फ सिद्धान्तज्योतिष विषयमा शास्त्री तहसम्मको औपचारिक अध्ययन गर्नु भएको थियो ।

आचार्य मृदुभाषी, सदाचारी, इमान्दार, कर्तव्यनिष्ठ सच्चा लोकतन्त्रवादी एवं जनताको बीचमा लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । जस्तोसुकै दुख र आपतमा पनि धैर्यतापूर्वक परिस्थितिको सामना गर्नसक्ने, सादा जीवन उच्च विचारका हिमायति वौद्धिक व्यक्तिका धनी हुनुहुन्थ्यो । संस्कृत पूर्वीय दर्शनको अध्ययन गरेका आचार्य गीतादर्शनबाट बढी प्रभावित सुखमा मात्तिने र दुखको बेला आत्तिने दुवै प्रवृत्तिबाट टाढा अर्थात् सुखदुखमा समभाव उहाँको विशेषता थियो ।

सुदर्शन आचार्यलाई सबैले गुरु भनेर सम्बोधन गर्न मन पराउथे । गुरुमा हुनुपर्ने ज्ञान, अनुभव र विद्वता सबै किसिमका गुणहरु उहाँमा विद्यमान थिए । उहाँ एक कुशल भागवत्वक्ता पनि हुनुहुन्थ्यो । भागवत् वाचनकै भरमा उठेको धनराशिबाट कैयौं मठमन्दिर र पुलपुलेसाहरुको निर्माण गराउन उहाँ सफल हुनुभयो । काठमाण्डौ धर्मस्थलीको महांकाल मन्दिर, बालाजु बाइसधाराको रत्नचूर्णेश्वर मन्दिर आदिको निर्माण र जीर्णोद्धार कार्य उहाँकै प्रयासबाट सम्भव भएको हो ।

गोलढुंगा र नेपालटारलाई जोड्ने पुलको निर्माण उहाँकै अग्रसरतामा भएको हो । राजधानीको केन्द्रदेखि ज्यादै निकट रहेर पनि बत्तीमुनिको अँध्यारोजस्तै विकासका दृष्टिले निकै पछाडि परेको साविक गोलढुंगा क्षेत्रको मुहारलाई फेर्न उहाँले गोलढुंगा खेलकुद रंगशाला निर्माणार्थ धेरै ठूलो परिश्रम र मिहनेत गर्नुभयो । यसका लागि उहाँले आवश्यक कागजात र योजनाको फायल बोकेर पटकपटक मन्त्री र नेताहरुको ढोका ढोका चाहर्नुभयो । आफ्नै पार्टी सरकारमा र आफूसंगै राजनीति गरेका नेताहरु मन्त्री हुँदा पनि उहाँले चाहेजस्तो सहयोग पाउनु भएन । आश्वासन धेरै दिइयो, धेरथोर बजेट पनि विनियोजन भई केही कार्य पनि नभएको होइन तर आधुनिक र सुविधासम्पन्न रंगशालाको निर्माण गर्ने उहाँको सपना अधुरो नै छ । उहाँको सपनालाई साकार पार्न सुदर्शन रंगशालाको नामकरणसहित उक्त कार्यलाई पूर्णता दिनेतर्फ राज्यले अग्रसरता देखाउनु जरुरी छ ।

विकेन्द्रीकरण नीतिका द्रष्टा

आजभन्दा २० वर्ष पहिले उहाँ जनप्रतिनिधिको रुपमा साविक गोलढुंगा गा.वि.सको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यतिबेला नै उहाँले जनतालाई सबल बनाउन स्थानीय तह बलियो हुनुपर्छ भनेर प्रस्तुत गर्नुभएको विचारलाई अहिले संघीय गणतन्त्रको स्थापनापछि सिंगो देशले स्वीकार गरेको छ । उहाँ विकेन्द्रीकरण सहयोग समाजको संस्थापक सदस्य हुनुहुन्थ्यो ।

उहाँले अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा निरन्तर आवाज उठाइरहनुभयो । उहाँ ग्रामपालिका र विकेन्द्रीकरण सम्बन्धी अवधारणाको बीजारोपण गर्ने प्रथम विचारक हुनुहुन्थ्यो । उहाँको यो योगदानलाई देश र जनताले विर्सिनु हुँदैन । उहाँका ग्रामपालिका र राष्ट्रनिर्माणसम्बन्धी दुइटा अमूल्य पुस्तकहरु प्रकाशित छन् ।

अन्तमा,

मृत्यु दु:खद छ, कहालीलाग्दो छ । तर पनि अनिवार्य छ । मृत्युको चक्रबाट आजसम्म कोही पनि बाँच्न सकेको छैन । चाहे त्यो राजा, सामान्य जनता, अत्यन्त लोकप्रिय नेता या आफुलाई संसारको शक्तिशाली ठान्ने तानाशाह, सन्तसाधु जोसुकै किन नहोस् सबैको साझा शत्रु मृत्यु नै हो । मृत्यु अवश्यंभावी छ । यो क्रुर मृत्युले हाम्रा धेरै आदरणीय, आत्मीय स्वजन, मित्रजन, राष्ट्रप्रेमी, देशभक्त, राजनेता सबैलाई लगेको छ । यस क्रममा सुदर्शन आचार्यजस्तो एउटा असल, निष्ठावान्, कर्मशील, प्रजातान्त्रिक समाजवादी चिन्तक, ज्ञानी र बौद्धिक व्यक्तित्व, लोकतान्त्रिक संस्कार र संस्कृतिका अनुयायी, धर्मनिष्ठ, सन्त पुरुषलाई गुमाउनु पर्दा हामी मर्माहत भएका छौं ।

यस घडीमा मेरा सामु राजनीतिक संस्कार, आचरण र आदर्शसित सरोकार राख्ने विषयहरु जब आउँछन्, त्यस बेलामा सुदर्शन आचार्यलाई सम्झिन्छु । यति मात्र होइन वी.पी.ले ठूलो मान्छे होइन असल मान्छे बन्नुपर्छ भन्नु भएको कुरालाई वी.पी.को सच्चा अनुयायीको रुपमा आफ्नो जीवनमा चरिचार्थ गर्ने व्यक्तिको रुपमा पनि मैले उहाँलाई झल्झल्ति सम्झिरहेको छु ।

जतिखेरदेखि उहाँलाई भेटाएँ त्यतिखेरदेखि नै अन्तिम भेटसम्म पनि उहाँको शिष्टता, नम्रता, सभ्य र सुसंस्कृत व्यवहार अनि सरल र आकर्षित व्यक्तित्व मुखरित भइरहेको पाइरहे । यस अर्थमा राजनीति गर्नेहरुको भीडमा एउटा छुटै पहिचान र विशिष्ट छाप दिन सफल व्यक्तिको रुपमा उहाँलाई मूल्यांकन गर्न सकिन्छ । उहाँका यी गुणहरुलाई सम्भवतः उहाँलाई नजिकबाट चिन्ने जान्ने कोही कसैले विर्सिन सकेका छैनन् होला ।

आजको दिनमा हामी सबैले उहाँबाट नम्रता, इमान्दारिता, कर्तव्यनिष्ठता, सादगी जीवनशैली तथा लोकतान्त्रिक आचरण र संस्कार आदि गुणहरुको अनुशरण गर्न सिकौं यही नै उहाँप्रतिको श्रद्धासुमन हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com