बझाङका युवा समूहद्वारा नगरपालिकालाई भीटीएम हस्तान्तरण



प्रकाशित मिति : Jun 17, 2020
  • रिदम सिंह,

बझाङ, ०३ असार । बझाङको बुंगल नगरपालिकाका युवाहरुले पीसीआर परीक्षणमा प्रयोग हुने भीटीएम खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरेका छन् । नगरपालिकाले गत वर्ष खेलकुद विकासका लागि भन्दै बुंगल खेलकुद विकास समितिलाई २ लाख बजेट विनियोजन गरेको थियो ।

यस्तै परिवर्तनशील बाल युवा सञ्जालकालाई विभिन्न नगरपालिका भित्र रहेका बालबालिकाहरुको क्षमता विकास गर्ने उदेश्यले २ लाख बजेट विनियोजन गरेको थियो ।

यहाँका युवाहरु मिलेर सोही रकमको पीसीआर परीक्षणका लागि ४ लाख मूल्य बराबरको भीटीएम खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिको परिवर्तनशील बाल युवा सञ्जालका अध्यक्ष आयुस सिहँले बताए ।

यसका साथै, नगरपालिकालाई अन्य स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिएको छ । बुंगल नगपालिका खेलकुद विकास समितिले मात्रै ३०० थान भीटीएम किट्स, केएन ९५ माक्स् १८०, सेनिटाइजर, ग्लोब्स, सर्जिकल माक्स, लगायतका स्वास्थ्य सामग्री खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरेको खेलकुद विकास समितिका अध्यक्ष धनशेर ओखेडाले बताए ।

कोरोना महामारीको यस अवस्थामा सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउदै मानवताको धर्म अनुसार उक्त रकम खर्च गरी नगरपालिकालाई सहयोग गरिएको उनले बताए । अन्य ठाँउमा प्रयोग गर्नुभन्दा अहिले सबैभन्दा उत्तम महामारीमा नियन्त्रणका लागि सहयोग गर्नुपर्ने ठानेपछि समितिको बैठकले स्वास्थ्य सामग्री खरिद गरी नगरपालिकालाई सहयोग गरेको ओखेडाले बताए ।

उक्त स्वास्थ्य सामग्रीले ठूलो सहयोग पुगेको नगरपालिकाका मेयर धनबहादुर विष्टले बताए । नगरपालिकाले ६ सय भीटीएम प्राप्त गरेको बताउँदै मेयर विष्टले दुवै समूहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यबाद समेत ज्ञापन गरे ।

अहिलेसम्म नगरपालिका भित्र रहेका १४ वटा क्वारेन्टाइनमा सात सय भन्दा बढी भारतबाट पुगेका स्थानीयहरु बसिरहेका छन् । उनीहरुको परीक्षणमा अहिले नगरपालिकाले विषेश जोड दिइरहेको बुंगल नगरपालिकाका नमित्त प्रमुख प्रशासकीय अधिकृत भरत रोकायाले बताए ।

भारत तथा विदेशबाट स्वदेश आउनेहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने, उक्त समय अवधिभर नगरपालिकाले नै खानाको ब्यवस्था मिलाउदै आएको छ । त्यसका लागि दैनिक झण्डै एक लाख भन्दा बढी खर्च हुने गरेको बताइएको छ ।

नगरपालिकाले विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरेको बजेट र विभिन्न सचेतनाका लागि विनियोजित बजेटलाई रुपान्तरण गरी कोरोना विषेश कोषमा जम्मा गरिएको अधिकृत रोकायाले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com