रौतहट एउटै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो



प्रकाशित मिति : Jun 17, 2020
  • बालबिक्रम कार्की

रौतहट, ३ असार । पछिल्लो समय कोरोनाको केन्द्र बन्दै गएको रौतहटमा कोरोना संक्रमितको संख्या एक हजार कटेको छ । बुधबार थप १ सय २५ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार ४६ पुगेको छ ।

 

देशभर संक्रमितको संख्याले ७ हजार नाघ्दा रौतहट एउटै जिल्लामा १ हजार बढीमा संक्रमण पाइएको छ । यो सँगै रौतहट एक हजार संक्रमित कट्ने देशकै पहिलो जिल्ला बनेको छ ।

रौतहटमा कोरोना परीक्षणमा व्यस्त स्वास्थ्यकर्मी

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बुधबार पुष्टि भएकाहरुमा परोहा नगरपालिकाका २० जना ,देवाही गोनाही नगरपालिकाका ८ जना , इशनाथ नगरपालिकाका ६ जना, मौलापुर नगरपालिका ३ जना र बौधीमाई नगरपालिकाका ११ जना रहेका छन् । बाँकी ७७ जनाको ठेगाना खुल्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुलिखेल अस्पतालबाट आएको ७७ जना संक्रमितहरुको नाम अनि ठेगानामा रौतहटमात्र भनेर आएकाले कुन क्वारेन्टाइन र कुन स्थानीय पालिकाको हो भनेर छुट्टाउन गाह्रो भएको उहाँको भनाइ छ । उहाँले धुलिखेल अस्पताललाई थप जानकारी सहित रिर्पोट पठाउन भनेको र जिल्लामा रहेका क्वारेन्टाइनमा पनि ती नामहरु रुजु गर्न पठाइएको जानकारी दिनभुयो ।

पुष्टि भएका सबैजना हालसालै रोजगारी गरेर भारतबाट फर्किएर सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । संक्रमित रहेका सबैको स्वास्थ्य अवस्था सामान्यनै रहेको र उनीहरुको जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ४ हजार ४ सय ५५ जना रहेका छन् । जसमध्ये ४ हजार २ सय ६ पुरुष र २ सय ४९ महिला रहेका छन् ।

त्यसैगरी क्वारेन्टाइनबाट घर फर्कनेको संख्या ६ हजार ४ सय ६१ रहेको छ । जिल्लामा हालसम्म २ सय ४८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

अझैपनि जिल्लामा ६ सय ६३ पुरुष र २४ जना महिला संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । जिल्लामा अझैपनि ३ हजार १ सय २५ जनाको स्वाव परीक्षणको रिर्पोट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com