३ असार २०७७, बुधबार

काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई दिने नागरिकताको समयावधिसम्बन्धी प्रस्तावको निर्णय हाललाई टाढिएको छ ।

समितिमा मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको थियो । बुधबारको बैठकमा गृहमन्त्री थापाले समय मागेपछि समितिले उक्त नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई ५ दिनको समय दिएको छ ।

यस विषयमा राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापाले समय माग्नुभएको थियो । सोही क्रममा समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउनका लागि भन्दै ५ दिनको समय दिनुभएको हो ।

मंगलबार मात्रै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको थियो ।

यस प्रस्तावलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समर्थन गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने यसको विरोध गरेको छ ।

बुधबारको समिति बैठकमा गृहमन्त्री थापाले सरकारसँग पनि यस विषयमा कुरा आएको बताउनुभएको छ । सरकारबाट र राजनीतिक तहबाट पनि यसलाई सहमतिमा नै टुंग्याउन जरुरी रहेको उहाँको भनाइ छ ।

सरकार र राजनीतिक तहमा पनि छलफल गर्नुपर्ने भएकाले समितिमा थप छलफल गर्न नहुने गृहमन्त्री थापाको भनाइ थियो ।

यसैबीच मंगलबारको समिति बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद दिलेन्द्र बडूले अंगीकृत नागरिकताको अहिलेको व्यवस्था नै सही भएको भन्ने पार्टीको निर्णय सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV