३ असार २०७७, बुधबार
  • किरण धामी,

दार्चुला, ३ असार । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बिओपी स्थापना भएपछि छाङ्गरुका स्थानीयवासीले आफुहरु सुरक्षित भएको महसुस गरेको बताउनु भएको छ । उहाँले छाङ्गरुमा बाह्रै महिना सशस्त्र प्रहरी राख्न भौतिक संरचना निर्माणको प्रक्रिया सुरु भएको पनि जानकारी पनि दिनुभएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासहित आज दार्चुलाको व्याँस १ छाङ्गरुमा पुग्नु भएका महानिरीक्षक खनालले दार्चुलाको खलंगामा सञ्चारकर्मीसंग कुरा गर्दै छाङ्गरुमा सशस्त्रको गुल्म नै स्थापना गरिने जानकारी पनि दिनुभयो । उहाँले भारतसंगको सबै सीमा जोडिएको सीमानाकाहरुमा बीओपी स्थापना गर्ने सशस्त्रको कार्ययोजना रहेको पनि बताउनु भयो ।

प्रधानसेनापति थापा र महानिरीक्षक खनालले दार्चुलाको ब्याँस‐१ छाङ्गरुमा गत वैशाख ३१ गते स्थापना गरिएको बिओपीको स्थलगत अनुगमन निरीक्षण पनि गर्नु भएको थियो । आज विहान नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्नु भएका उहाँहरुले छाङ्गरु स्थित सशस्त्र प्रहरी बलको बिओपी र सीमा क्षेत्रको अनुगमन गर्नु भएको थियो ।

बीओपीको अनुगमन निरीक्षण गरी उहाँहरु दुबै जना दार्चुलाको खलंगा फर्कनु भएको थियो । यसैबीच महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको नव निर्मित दुई तले भवनको उद्घाटन गर्नु भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा निर्माण सम्पन्न भवनको उहाँले उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले सीमा रक्षाका साथै सशस्त्र प्रहरीले पाएका अन्य जिम्मेबारी पूरा गर्न निर्देशन समेत दिनु भएको थियो ।

महानिरीक्षक खनालले सञ्चारकर्मीसंग भ्रमणको उद्देश्यबारे प्रकाश पार्नु भएपनि प्रधान सेनापति थापाको विषयमा भने नेपाली सेनाले कुनै पनि जानकारी दिएको छैन । भ्रमणमा सबै स्थानहरुमा उहाँहरु दुबै जना संगै रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV