३ असार २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३ असार । स्थानीय प्रशासन र आन्दोलनरत समूहबीच सहमतिपछि प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत भेटिएका शम्भु सदाको शवको पोष्टमार्टम गरिएको छ ।

आन्दोलनरत संघर्ष समिति र स्थानीय प्रशासन बीच ३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र मुसहर समुदायबीच सहमति भएपछि उनको शव ७ दिनपछि पोष्टमार्टम गरिएको हो ।

स्थानीय मुसहर समूदायले सदा मृत्यु प्रकरणको अनुसन्धान र क्षतिपूर्तीको माग गर्दै शव चलाउन दिएका थिएनन् । मुसहर समूदायले पोष्टपमार्टम गर्नुपूर्व केही मागहरु अगाडि सार्दै पोष्टमार्टम कार्य अवरुद्ध गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषा र संघर्ष समितिबीच घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गर्ने, मृतकको परिवारलाई क्षतिपूर्तिसहित राहतका लागि तत्काल पहल गर्ने र पीडित परिवारको शान्ति सुरक्षाको ग्यारेण्टी गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले न्यूज २४ लाई जानकारी दिनुभयाे ।

सदाको शव दाहसंस्कारका लागि आज (बुधबार) प्रादेशिक अस्पताल जनकपुरबाट सबैलास्थित गाउँमा लैजाने तयारी गरिएको संघर्ष समितिले जनाएको छ ।

यता घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयाे ।

समितिमा मृतक पक्षको तर्फबाट २ जनालाई आमन्त्रित सदस्यको रुपमा राखिने छ । उक्त समितिमा १ जना अधिकारकर्मी र अर्का १ जना कानून व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिने निरौलाले जानकारी दिनुभयाे ।

प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमु्ख, संघर्ष समितिका पदाधिकारीहरु समेतको सहभागितामा बसेको बैठकले पीडित परिवारलाई तत्काल उचित प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

प्रहरीले शम्भु सदाले आत्महत्या गरेको दावी गर्दै आएपनि पीडित परिवारले भने प्रहरी समेतको मिलेमतोमा हत्या गरिएको आरोप लगाउँदै आएको छ ।

पीडित परिवारले इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर चन्द्रभुषण यादव लगायतका विरुद्धमा हत्या आरोपमा सरकारी वकिल कार्यालय धनुषामा उजुरी समेत दिएको छ ।

त्यस्तै संघर्ष समितिले धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनाभित्रै शौचालयमा झुन्डिएर एक दलित युवाको मृत्यु भएको घटना सम्बन्धमा स्थलगत अध्ययन प्रतिवेदन–२०७७ सार्वजनिक गरेको छ ।

स्थानीय स्तरमै तयार पारिएको प्रतिवेदनमा सदाको हत्या भएको निस्कर्ष उक्त समितिले निकालेको छ । त्यस्तै प्रदेश २ सरकारले मृतक परिवारलाई ३ लाख रुपैयाँको क्षतिपूर्ति दिने भएको छ ।

जेठ १२ गते सदाले चलाएको ट्रयाक्टरले स्थानीय समुन्द्रीदेवी साहलाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते साहको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यू भएको थियो । साहको मृत्युपछि सवारी ज्यान मुद्दा लागेका सदालाई ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएको थियो । हिरासतमै रहेका उनको शव जेठ २७ गते राति २ बजे शौचालयमा भेन्टिलेटरमा झुण्डिएको अवस्थामा बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV