३ असार २०७७, बुधबार

एजेन्सी, ३ असार । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले कोरोनाभाइरस पछि दोस्रो खेलमा पनि जित निकालेको छ ।

गएराति आफ्नै घरेलु मैदानमा भएको खेलामा बार्सिलोनाले लेगानेसलाई २-० गोल अन्तरले पराजित गर्यो । काेरोनाभाइरस पछिको पहिलो खेलमा पनि बार्सिलोनाले मालोर्कालाई ४-० गोलको फराकिलो अन्तरले पराजति गरेको थियो ।

बार्सिलोनालाई सहज जित दिलाउनका लागि युवा स्टार अन्सु फाती र कप्तान लियोनल मेस्सीले समान एक-एक गोल गरे ।

सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि गोल भने गर्न सकेन । पाहुना टोली लेगानेसले खेलको ११ औं र १३ औं मिनेटमा गोल गर्ने सुनौलाे मौका गुमाउँदा अग्रता लिनबाट चुकेको थियो ।

तुलनात्मक रूपमा घरेलु मैदानमा फितलो प्रदर्शन गरेको बार्सिलोना पहिलो हाफमा केही दबाबमा परेको थियो ।

खेलको ४१ औं मिनेटमा फातीले गाेल गर्दै बार्सिलाेनालाई अग्रता दिलाएका थिए । उनले जुनिअर फिर्पोको पासमा गोल गरेका थिए । त्यसपछि पहिलाे हाफमा कुनै पनि गाेल हुन सकेन ।

पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ६९ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलाेनाकाे अग्रता दोब्बर बनाए । लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएको थियो ।

मेस्सीले पेनाल्टीमार्फत् गोल गर्नुअघि ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै गोललाई मान्यता दिएनन् ।

इन्ज्युरी समयमा लुइस सुआरेजले गोल गर्ने सुनौलो अवसर पाए पनि गोल गर्न सकेनन् । त्यस लगत्तै रेफ्रीले बेन्चमा अभद्र व्यवहार देखाएको भन्दै लेगानेसका प्रशिक्षक जाभिएर अगिर्रेलाई रातो कार्ड देखाए ।

याे जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक पुगेको छ । २८ खेल खेलेको रियलले ५९ अंक जाेडेकाे छ । रियलले बिहीबार भ्यालेन्सियाको सामना गर्नेछ । पराजित लेगानेस भने २९ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पुछारमा नै रहेको छ ।

LIVE TV