प्रहरीको दोहोरो भूमिकाकै कारण सिरहामा सार्वजनिक जग्गा विवाद बल्झियो !



प्रकाशित मिति : Jun 16, 2020
  • दिलिप कुमार सहनी,

सिरहा, २ असार । हुलाकी सडक क्षेत्रभित्र र महनौर मठ (छुटगुठी) गोलबजार १२ को सिरहा नगरपालिका–१ स्थित रहेको जग्गामा व्यक्तिले बनाएको घर स्थानीयहरुको सहमतिपछि खाली हुँदै भइरहेको थियो तर, प्रहरीले दोहोरो भूमिका खेलेपछि उक्त विवाद पुनः बल्झिएको छ ।

सिरहा नगरपालिका–१ बस्ने इन्द्रदेव यादवले गुठीको जग्गामा बनाएको घर खाली गराउने सन्दर्भमा प्रहरीले दोहोरो भुमिका खेलेपछि विवाद बल्झिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

‘मठका प्रतिनिधि र अन्य सदस्यहरुले जग्गा खाली गराउदै गर्दा पक्की घर भत्काउने विषयमा समान्य विवाद भएको थियो । प्रहरी आउदा साम्य भयो’, प्रत्यक्षदर्शीले भने, ‘स्थानीय र मठका प्रतिनिधिहरुबीच तत्कालै भएको छलफल अनुसार चिनो लगाएर जग्गा खाली गराउने सहमति भयो ।’

स्थानीय र मठका प्रतिनिधिबीच भएको सहमति अनुसार जग्गा खाली गराउदै गर्दा गइसकेका प्रहरी अचानक आएर गाली गलौज र लाठी प्रहार गर्न थालेपछि विवाद पुनः बल्झिएको महनौर मठ (छुट गुठी) का महन्थ लक्ष्मण दास वैष्णवले बताए ।

मठको जग्गा मिचेर घर बनाई उपभोग गर्दै आएका इन्द्रवेव यादव र उनकी श्रीमति सुश्मा यादवले जग्गा खाली नगर्ने र विना प्रमाण उपभोग गर्ने जिकिर गर्दै आएको उनको दाबी छ ।

सिरहा नगरपालिका–१ स्थित कित्ता नं.३ को ४ कट्ठा र किता न.२८ को १५ धुर जग्गा महनौर मठ (छुट गुठी) को नाउँमा रहेको छ । तर, सोही जग्गा कब्जा गरेर यादव दम्पती बस्दै आएका उनको भनाइ छ ।

गुठी, मठ र मन्दिरको जग्गा खाली गराउने राष्ट्रिय स्तरमा अभियान चलेदेखि जग्गा खाली गर्न विभिन्न समयमा पटक–पटक सामाजिक रुपमा जानकारी दिएपनि बेवास्ता गर्दै आएको उनको भनाइ छ ।

सार्वजनिक जग्गा खाली गराउने विषयलाई लिएर मठका महन्तले गएको एक सातादेखि सरोकारवालालाई अवलोकन गर्न लिखित पत्राचार गर्ने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ प्रहरी नपुगेको भए स्थानीय र मठ प्रतिनिधिबीच भएको सहमति अनुसार उक्त सार्वजनिक जग्गा खाली भइसक्ने थियो । ‘छलफलमा बस्न भन्दा नबस्ने र अचानक आएर प्रहरीले लाठी प्रहार र गाली गलौज गर्दा आफुहरु पनि अपमानित भएको महसुस गरेका छौं’, महनौर मठका महन्तले भने ।

भत्काउन लागिएको इन्द्रदेव यादवको घर हुलाकी सडकमा पर्न गएपछि खाली गर्न वर्षौंदेखि जानकारी गराउदा पनि उनले बेवास्ता गर्दै आएको स्थानीयको भनाइ छ ।

इन्द्रदेवको पूर्व र पश्चिममा पर्ने हुलाकी सडकक्षेत्रको जग्गा खाली भइसके पनि इन्द्रदेव यादवले खाली नगर्दा निर्माणमा समेत असर पर्दै आएको स्थानीयहरुले गुनासो गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com