एन्फा निर्णय : भक्तपुरमा नयाँ तदर्थ समिति,कोरोना राहत रकम ७५/७५ हजारका दरले दिइने



प्रकाशित मिति : Jun 16, 2020

काठमाडौं, २ असार । भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई विघटन गरेर अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ तदर्थ समिति गठन गरेको छ ।

एन्फाको मंगलबार बसेको कार्यसमितिको आपतकालीन बैठकले भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई हटाएर तदर्थ समिति गठन गरेको हो ।

एन्फाको विधान अनुसार संघले काम नगरेको भन्दै कारवाही स्वरुप उसको कार्यसमितिलाई नै भंग गरेर किशोर हेकाको अध्यक्षतामा नयाँ १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

यस्तै फुटबलका लागि विश्वको सर्वोच्च संस्था फिफाबाट प्राप्त कोरोना भाइरस प्रभावित राहत रकम पनि कार्यसमितिले पारित गरेको छ । कार्य समितिको निर्णय अनुसार हरेक जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजन क्लवलाई ७५ हजारका दरले दिइने छ ।

यसैगरी बैठकले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण यसै महिनादेखि सञ्चालन गर्ने योजना बनाएको छ ।

तर कोरोना जोखिमका कारण खेलकुदका गतिविधि गर्न सरकारले बन्देज लगाएकोले प्रशिक्षणका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् मार्फत सरकारसँग आग्रह गर्ने भएको छ ।

यसैगरी बैठकले राष्ट्रिय टोलीका महिला र पुरुष गरी ३५/३५ गरी ७० जना खेलाडीको कोरोना वीमा गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com