
- बालकुमार शर्मा,
जाजरकोट, २ असार । रुकुम घटनाको सत्यतथ्य छानवीनका लागि गठन भएको संसदीय छानवीन समितिले घटनास्थल पुगेर काम थालेको छ । समितिका संयोजक देवेन्द्र पौडेलसहित समितिका सदस्यहरु सोमवार जाजरकोट पुगेपनि मंगलबार विहान देखि काम थालेका हुन ।
समितिले जाजरकोट स्थानीय प्रशासन र सुरक्षा निकाय निकायसँग घटनाबारे हाल सम्म भैरहेका अनुसन्धान प्रक्रिया र घटनाको अवस्था बारे जानकारी लिएको छ । समितिले पीडित परिवार, स्थानीय अधिकारकर्मी, घाइते, संघर्ष समिति, सञ्चारकर्मी लगायतका सरोकारवाला निकायसंग आवश्यक छलफल गरी घटनाबारे जानकारी लिएको छ ।
संसदीय समिति समक्ष पीडित परिवारले जातीय विभेदका कारण भएको घटनालाई तोडमोड गर्न खोजिएको भन्दै सत्य तथ्य छानवीनको माग गरेका छन ।
मंगलबार दिउसो भएको भेटघाटमा समिति समक्ष घटनामा मारिएका नवराजका बुवा मुनलालले छोराको हत्यारालाई जन्म कैदको माग गर्नु भयो । उहाले भन्नु भयो ‘मेरा छोरा नवराज सहित ६ जनाको हत्या भएको छ । घटनालाई तोडमोड गर्न थालिएको सुनेको छु । पोष्टमार्टम रिपोर्टमा पानीमा डुवेर मरेको भनिएको छ ।’
हत्या गरेर भेरीमा फालिएका छन तर डाक्टर समेत दवाव र प्रभावमा परेर प्रहरीको मुचुल्का भन्दा फरक रिपोर्ट तयार गरेका छन ।
‘यसरी जालझेल हुँदैछ । हामी कसरी न्याय पाउँछौ ? घटनाको निष्पक्ष छानविन र अनुसन्धानका लागि माग गर्दछु’, मुनलालले थप्नु भयो ।
संसदीय छानवीन समितिलाई रुकुम घटना संघर्ष समिति जाजरकोटका तर्फबाट पनि ज्ञापनपत्र बुझाईएको छ । ज्ञापनपत्रमा पोष्टमार्टम रिपोर्ट शबको प्रकृति भन्दा फरक तयार पारिएको हुँदा आवश्यक छानविन गर्नु पर्ने, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, घटनाको निष्पक्ष छानविन गर्नु पर्ने लगायतका माग समेटिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले जानकारी दिनु भयो ।
मंगलबार पनि संघर्ष समिति र पीडित परिवारले नाराबाजी सहित बजार परिक्रमा गरी जिल्लाका डाक्टरहरुलाई तत्काल कारवाहीको माग गरेका छन् भने सोमवार जिल्ला अस्पतालमा गोली चलाउने प्रहरीको कारवाहीको माग समेत गरका थिए ।
नाराबाजी सहित बजार परिक्रमा गरेको उनीहरुले आफ्ना माग नसुने थप आन्दोलनका कार्यक्रम अगाडि वढाउने पनि जनाएका छन् ।
पीडित परिवार सवैको एउटै चिन्ता छ । कतै अपराधी उम्किने पो हुन कि भनेर ।
तर संसदीय छानविन समितिका संयोजक पौडेलले पीडित परिवारलाई आश्वस्त पार्दै घटनाको सत्यतथ्य छानविन हुने बताउनु भयो ।
रुकुम घटनाका मृतकको पोष्टमार्टम रिपोर्टमा चिकित्सकले जालझेल गरेको भन्दै आन्दोलनमा उत्रिएका पीडित परिवार माथि लाठीचार्ज गर्ने कार्य निन्दनीय भएको संयोजक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पीडामाथि पीडा थप्ने काम भएको छ ।’
जसले आफ्ना छोराहरु गुमाएका छन् उसैमाथि प्रहरीले कुटपिट गर्नु निकै दुःखद घटना हो । स्थानीय प्रशासनलाई पनि सोमवारको घटना गलत भएको र प्रहरीले संयमता अपनाउन नसकेको भनेर समितिले भनेको र यस्तो घटना पुनः नदोहरयाउन आग्रह गरेको पनि पौडेलले बताउनुभयो ।
प्रहरीले पाँच राउण्ड हवाइ फायर र दुई राउण्ड अश्रुग्याँस प्रहार गनुका साथै लाठी चार्ज गर्दा पाँच आन्दोलनकारी घाइते भएका थिए । घाइते हुनेमा मृतक नवराजकी आमा उर्मिला गणेश बुढाकी आमा र बुवा पदम बुढा, दाइ भिजन बुढा लगायतका घाइेत भएका छन् । घाइते पदम बुढा र उनकी श्रीमतिको थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ ।
शवको प्रकृति भन्दा भिन्नै पोष्टमार्टम रिपोर्ट बनाईएको भन्दै पीडित परिवार र संघर्ष समिति चिकित्सकका विरुद्ध आन्दोलनमा उत्रिएका छन ।
शान्तिपूर्ण तरिकाले प्रर्दशन गर्न गएका स्थानीयमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताउनु भयो । पोष्टमार्टम रिपोर्टमा डुवेर मरेको भन्ने कुरा उल्लेख गरेपछि स्थानीयवासी आक्रोशित छन ।
पीडित परिवार र स्थानीयले मंगलवार पनि नाराबाजी गदै सदरमुकाममा प्रर्दशन गरेका छन । स्थानीय प्रशासनले आन्दोलन फिर्ता लिन संघर्ष समितिलाई आग्रह गरेको छ ।
यता संघर्ष समितिले पोष्र्टमार्टम रिपोर्ट तयार गर्ने पाँच जना डाक्टर विरुद्ध मतियार बनेको भन्दै मुद्धा हाल्ने निर्णय गरेको समितिका सहसंयोजक छवि पन्तले बताउनुभयो ।
गत जेठ १० गते केटी भगाउन भन्दै रुकुमको सोती गाँउ गएका जाजरकोटका नवराज सहित ६ जनाको सामुहिक हत्या भएको थियो । अन्र्तजातीय प्रेम सम्बन्धका कारण उक्त घटना भएको विभिन्न अधिकारकर्मीको भनाइ छ ।
कथित तल्लो जातको दलितले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण हुँदा ६ जनाले ज्यान गुमाएका थिए । घटनापछि जाजरकोट सदरमुकाममा दिनुहँ न्यायका लागि नाराबाजी सहित आन्दोलन भैरहेको छ ।