सुख्खा बन्दरगाह सञ्चालनको टेण्डर प्रक्रिया टुंगियो, प्रिस्टाइनले ३ अर्ब ३३ करोडमा ठेक्का साकार ग-यो



प्रकाशित मिति : Jun 16, 2020
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २ असार । नेपाललाई भारतसँग जोड्ने एकमात्रा रेलमार्ग वीरगन्जस्थित सुख्खा बन्दरगाह सञ्चालनको लागि टेण्डर प्रक्रिया टुंगिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि आगामी पाँच वर्षको लागि सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा भारतको नयाँ दिल्लीस्थित प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रालिले पाएको छ ।

विगत ५ महिना अगाडि २०७६ मंसिर २४ गते सुख्खा बन्दरगाह सञ्चालन गर्ने नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात विकास समितिले आह्वान गरेको टेण्डर प्रक्रियाबाट प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रालिले आगामी ५ वर्षको लागि सुख्खा बन्दरगाह सञ्चालनको लागि ठेक्का साकार गरेको छ ।

उक्त कम्पनीले ३ अर्ब ३३ करोड रकम कबोल गरेपछि सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का प्रिस्टाइन प्रालिले पाउने भएको हो । सुख्खा बन्दरगाह सञ्चालन गर्ने क्रममा प्रिस्टाइनले नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई प्रत्येक वर्ष पाँच किस्ता मार्फत रकम भुक्तानी गर्ने सहमति भएको छ ।

पहिलो वर्ष ३३ करोड, दोश्रो वर्ष ४० करोड, तेश्रो वर्ष ५३ करोड, चौथो वर्ष ६७ करोड तथा पाँचौ वर्ष ८२ करोड भुक्तानी गर्ने सहमति भएको नेपाल इन्टरमोडेल यातायात विकास समिति (आईसीडी) वीरगन्जका प्रमुख कमल ज्ञवालीले बताए ।

सुख्खा बन्दरगाह ठेक्का लगाउनका लागि टेण्डर आह्वान गरिएपछि नेपालका एक वटा तथा भारतका चार वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

टेण्डर प्रतिस्पर्धामा नेपालका हाइवे जगदम्बा जे.वी. तिनकुने काठमाडौं तथा भारतका प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रालि न्यू दिल्ली, कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोनकर) मातहतका हिमालय टर्मिनल प्रालि, आदानी लोजिस्टिक लि. गुजरात तथा इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फास्टक्चर प्रालि महाराष्ट्रले भाग लिएका थिए ।

प्रतिस्पर्धाको क्रममा सबैभन्दा अग्र स्थानमा रहेको प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रा.लि.ले ३ अर्व ३३ करोड रकम कबोल गरेको थियो भने दोश्रो स्थानमा रहेको हिमालय टर्मिनलले २ अर्व ८१ करोड ९० लाख रकम कबोल गरेको थियो ।

विगत १५ वर्षदेखि सुख्खा बन्दरगाह सञ्चालन गर्दै आएको (कोनकर) कन्टेनर कर्पोरेशन अफ इन्डिया मातहतका हिमालय टर्मिनल भने यस पटकको टेण्डरमा दोश्रो स्थानमा परेको छ ।

हिमालय टर्मिनलले कबोल गरेका रकम भन्दा लगभग ५० करोड बढी रकम प्रिस्टाइनले कबोल गरेपछि सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का पाएको हो ।

यसरी नै तेश्रो स्थानमा रहेको आदानी लोजिस्टिक लि.ले २ अर्व ८० करोड ६० लाख रकम कबोल गरेको थियो भने चौथो स्थानमा रहेको हाइवे जगदम्बा जे.वी. तिनकुने काठमाडौंले २ अर्व ४६ करोड रकम कबोल गरेको थियो ।

यसरी नै पाँचौ स्थानमा रहेको इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फास्टक्चर प्रा.लि. महाराष्ट्र भारतले २ अर्व ४४ करोड ५० लाख रकम कबोल गरेको थियो ।

सुख्खा बन्दरगाह सञ्चालनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका नेपाल इन्टरमोडेल यातायात विकास समितिले न्यूनतम २ अर्व ४० करोड रकम माग दाबी गरेको थियो ।

विगत १५ वर्षदेखि सुख्खा बन्दरगाह सञ्चालन गर्दै आएको हिमालय टर्मिनलको म्याद यही असार २२ गते सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com