२ असार २०७७, मंगलवार
  • अमर काफ्ले,

इनरुवा, ०२ असार । इनरुवाका स्थानीयले नगरपालिकाले दमकल मर्मत गर्न नसकेको भन्दै रु. ५ सहयोग गरेका छन् ।

नगरपालिकाको दमकल बिग्रेर थन्केको भन्दै स्थानीयले बनाउन खर्च अभाव भएको हुन सक्ने भन्दै सहयोगका लागि रु. ५ का दरले चन्दा सङ्कलन गरेका हुन् ।

हनुमान वस्त्रालयमा भएको आगलागीका कारण पुगेको क्षति दमकल बिग्रेर नबनाइदाको परिणाम भन्दै स्थानीयले सांकेतिक विरोध स्वरुप रु. ५ का दरले सहयोग रकम जुटाई नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।

इनरुवा बजारमा रहेका पसलहरुमा पुगी स्थानीयले दमकल मर्मत वापतको रकम संकलन गरेका थिए । नागरिक समाज इनरुवाको नाममा बजारमा रकम संकलन गरिएको थियो ।

चन्दा वापत उठेको २ हजार ५ सय २५ रुपैंया इनरुवा नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त रकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई बुझाइएको छ ।

दमकल नभएकै कारण बढी क्षति भएको भन्दै इनरुवाका युवाहरुले समेत आजै बिरोध जनाएका छन् । उनीहरुले नगरपालिकाको लाचारी भन्दै नाराबाजी सहित नगर परिक्रमा गरेका छन् । उनीहरुले समस्याका बारेमा जानकारी गराउँदा नगर प्रमुखले उल्टै खेदजनक अभिव्यक्ति दिएको बताए ।

इनरुवाको मुख्य बजारमा रहेको हनुमान वस्त्रालयमा आगलागी हुँदा ५ करोड बढीको क्षति भएको थियो । आगो निभाउन छिमेकी पालिकासहित अन्य जिल्लाबाट दमकल इनरुवा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV