२ असार २०७७, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतहट, २ असार । रौतहटमा कोरोना संक्रमितको संख्या बढेसँगै कोरोनालाई जित्नेको संख्या पनि बढिरहेको छ । जिल्लामा मंगलबार एकैदिन कोरोना संक्रमण मुक्त भएर १ सय ३७ जना घर फर्किएका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा २ सय ४७ पुगेको छ । मंगलबार जिल्लाको राजपुर नगरपालिकाका ७६ जना र परोहा नगरपालिकाबाट ६१ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

राजपुर नगरपालिकाको वडा नम्बर ९ को वैरिया स्थित मदरसाको आइसोलेसनमा उपचाररत एक १० वर्षीय बालकसहित ७६ जना पुरुषहरु संक्रमण मुक्त भएर घर फर्किएका सो नगरपालिकाका स्वास्थ्य संयोजक रविन्द्र कुमार झाले जानकारी दिनुभयो ।

उनीहरुको जेठ २६ गते स्वाब संकलन गरेर पठाइएकोमा आज रिर्पोट नेगेटिभ आएपछि उनलाई घर पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेसनमा बस्ने क्रममा उनीहरुलाई कुनैपनि स्वास्थ्य समस्या देखा नपरेको बताउँदै बिना कुनै औषधि निको भएको जानकारी दिनुभयो ।

सो नगरपालिकामा हालसम्म २ सय ६८ जनामा संक्रमण पुष्टि भइसकेको निमित प्रमुख प्रशासकीय अधिकृत वैजु ठाकुरले जानकारी दिनुभयो । उहाँले नगरपालिका आफ्नै पहलमा संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिरहेकोमा यसरी निको भएर घर फर्कनु निकै खुसीको कुरा भएको भन्दै नगरपालिकालाई चाँडै कोरोना मुक्त भएको हेर्ने नगरवासीको चाहाना पुरा हुँदै गइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

यसैगरी आजै जिल्लाकै परोहा नगरपालिकाका श्री ब्रह्मज्योति मावि लौकाहामा रहेका ६१ जना कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन् । ६१ जना मध्ये ३ जना महिला रहेका छन् ।

आज संक्रमण मुक्त भएर १४ वर्षीय र ९ वर्षीया बालिका र उनीहरुको आमा पनि रहेका सो नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जलन्धर प्रसाद यादवले जानकारी दिनुभयो ।

गत जेठ २७ र २८ गते संक्रमण पुष्टि भएर सो आइसोलेसनमा बस्दै आएकोमा उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएपछि १४ दिन होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर घर फर्काइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सो नगरपालिकाका हालसम्म १ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । उहाँले संक्रमितहरुलाई नगरपालिकाकै आइसोलेसनमा राखेर निको पारेर घर पठाउँदा निकै खुसी लागेको अनुभव सुनाउँदै यसले कोरोना कहर विरुद्ध लड्न थप हौसला मिलेको बताउनुभयो ।

कोरोना संक्रमण मुक्त भएर घर फर्किएकाहरु निकै खुसी देखिएका थिए । उनीहरु आफुहरुले कोरोना संक्रमण भएको सुन्दा सुरुमा डर लागेपनि पछि उच्च मनोवल र दृढ आत्मविश्वासलेनै जितेको प्रतिक्रिया दिएका थिए ।

उनीहरुले अब आफुहरु समाजमा कोरोनाको बारेमा जनचेतना जगाउनतर्फ लाग्ने बताउँदै आइसोलेसनमा रहँदा स्वास्थ्यकर्मीको सहयोग, निर्देशन र उपचार अनि आफुहरुको उच्च मनोवलले कोरोनालाई पराजित गर्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV