२ असार २०७७, मंगलवार
  • बसन्त लिम्बू,

ताप्लेजुङ, ०२ असार । ताप्लेजुङको कारागारको सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । कारागारको सुरक्षा पोष्टमा सोमबारदेखि सेनाले सुरक्षा दिन थालेको हो ।

ताप्लेजुङ जिल्ला कारागारको छतमा रहेको चार वटै सुरक्षा पोष्टमा भीमकाली गुल्मका सेनाको टोली खटिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

प्रजिअ निरौलाका अनुसार प्रहरीलाई सीमा सुरक्षामा पठाउन संख्या कटौती भएकाले सेना खटाइएको हो । ‘त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाउने गरी आधा कटौती गरियो’, निरौलाले भने, ‘सोही ठाउँमा माथिकै परिपत्र अनुसार सेना खटाइएको हो ।’

कारागारको सुरक्षाका लागि खटाइएका १२ जना प्रहरी मध्ये आधाको संख्या कटौती भएपछि सेनाले सुरक्षा दिन थालेको निरौलाले बताए । हाल सेनाका १३ जनाको टोली सुरक्षार्थ खटिएको छ ।

ताप्लेजुङमा अहिले १ सय ३४ जना कैदीबन्दी रहेका छन् । जिल्लाका कारागारको क्षमता भने २५ जना मात्रको हो । तर, वर्षौदेखि क्षमता भन्दा बढी कैदीबन्दी राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV