२ असार २०७७, मंगलवार
  • बालबिक्रम कार्की

रौतहट, २ असार । पछिल्लो समय कोरोनाको केन्द्र बन्दै गएको रौतहटमा कोरोना संक्रमितको संख्या ९ सय कटेको छ । मंगलबार थप ५२ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

यो संगै जिल्लामा संक्रमितको संख्या ९ सय २१ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार पुष्टि भएकाहरुमा बौधीमाइ नगरपालिकामा ३३ जना, यमुनामाई गाउँपालिकामा ९ जना, देवाही गोनाही नगरपालिकामा ८ जना, इशनाथ नगरपालिकामा १ जना र परोहा बिजयपुर नगरपालिकामा १ जनामा रहेका छन् ।

 

पुष्टि भएका सबैजना हालसालै रोजगारी गरेर भारतबाट फर्किएर सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । संक्रमित पुष्टि भएकाहरुमध्ये केही बालबालिका पनि रहेका छन् ।

संक्रमित रहेका सबैको स्वास्थ्य अवस्था सामान्यनै रहेको र उनीहरुको जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

 

जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ५ हजार ५ सय ६७ जना रहेका छन् ।

जसमध्ये ५ हजार २ सय ७१ पुरुष र २ सय ९६ महिला रहेका छन् । त्यसैगरी क्वारेन्टाइनबाट घर फर्कनेको संख्या ५ हजार ३ सय ३८ रहेको छ । जिल्लामा हालसम्म १ सय १० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

अझैपनि जिल्लामा ७ सय ४७ पुरुष र २२ जना महिला संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV