काँग्रेसको ध्यानाकर्षणप्रति प्रधानमन्त्रीको जवाफ : अनियमितता गरे सेनालाई पनि छाड्दिन



प्रकाशित मिति : Jun 16, 2020

काठमाडौं, ०२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले कोभिड–१९ नाम दिइएको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर काम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

मंगलबार प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण–पत्र बुझाएका छन् ।

बालुवाटार पुगेका उनीहरुले कोरोना महामारी नियनत्रणका लागि पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने र स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्दारमा अनियमितता भयो भन्ने विषयमा छानबिन गर्नुपर्ने पनि माग राखेका छन् ।

जवाफमा प्रधानमन्त्री ओली आफैले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई हेरिरहेको बताउनुभएको छ । साथै, उक्त विषयमा जो–कसैलाई दोषी पाइएमा नछाड्ने बताउनुभयो । उहाँले दोषी पाइएमा नेपाली सेनालाई समेत नछाड्ने बताउनुभयो ।

उहाँले अहिले सरकारको ध्यान कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको बताउनुभयो । कागज भएको र छानबिन गर्दा तलमाथि देखिएमा कसैलाई नछाड्ने बताउनुभएको हो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमणको जोखिम बढेको पनि बताउनुभएको छ । त्यस्तै, उहाँले भारतबाट आएकालाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार पनि गर्नुभएको छ ।

अब कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सबै दल मिलेर सचेतना बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको जानकारी गराइएको छ ।

 ध्यानाकर्षण–पत्र

प्रमलाई पत्र_NC

प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com