२ असार २०७७, मंगलवार
  • नन्दराम खड्का

रोल्पा, २ असार । रोल्पामा कोरोना भाइरस संक्रमितहरुको संख्या ३४ पुगेको छ । पछिल्लो पटक भेरी अञ्चल अस्पताल बाँकेमा गरिएको पीसीआर परीक्षणबाट एकै दिन १७ जनामा कोरोनाको पुष्टि भएसंगै कुल संक्रमितको संख्या ३४ पुगेको हो । जस मध्य ३२ पुरुष र २ जना महिला रहेका छन् ।

संक्रमितहरुको सदरमुकाम लिबाङ स्थित अस्थायीरुपमा स्थापना गरिएको कोभिड १९ आइसोलेसन केन्द्रमा उपचार भैरहेको छ । ७ बर्षीया एक बालकलाई भने अभिभावकको हेरचाहमा राख्नु पर्ने भएकाले सुनिल स्मृति गाउँपालिकाको सुलिचौरमा राखेर उपचार भइरहेको छ ।

यस अघि केहि संक्रमितहरुमा रुघाखोकी,ज्वरो तथा उच्च रक्तचाप जस्ता समस्या देखिएको भए पनि अहिले सबैको अबस्था सामान्य रहेको आइसोलेसनका तर्फबाट डा।अनिल केसीले जानकारी दिनुभयो ।

अत्याधुनिक रुपमा तयार गरिएको आइसोलेसन केन्द्रका हरेक कोठामा स्तरीय बेड, प्रत्येक कोठामा सीसीटीभी क्यामरा, ईन्टरकम टेलिफोन, वाईफाई सुबिधा समेत रहेको छ ।

यहाँ चिकित्सकसहित स्वास्थ्यकर्मीको चौबिसै घण्टा सेवा रहने समेत डा। केसीले बताउनुभयो । संक्रमितहरु मध्य रोल्पा नगरपालिकाका ५ जना र बाँकी सबै सुनिलस्मृति गाउँपालिकाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV