बेलबारी नगरपालिकाले सञ्चालन गरेको ‘जनता आवास’ कार्यक्रम विवादमा



प्रकाशित मिति : Jun 16, 2020

मोरङ, २ असार । बेलबारी नगरपालिकाले सञ्चालन गरेको जनता आवास कार्यक्रम विवादमा आएको छ । घर निर्माण कार्यमा कमसल सामाग्रीको प्रयोग गरिएको स्थानीय तथा जनप्रतिनिधिकै जनगुनासो आउन थालेकाे छ ।

नगरपालिकाले विपन्न तथा असहाय परिवारलाई १०१ वटा घर निर्माण गर्ने बेलबारीको एक उत्कृष्ट योजना हो । तर वाड नं. ३ मा निर्माणाधीन अवस्थामा रहेको घरमा कमसल सामाग्री प्रयोग भएको भन्ने स्थानीयको गुनासो रहेको छ । बेलबारी वाड नं. ३ मा ४० वटा घर निर्माण हुँदै छ । अन्य वडामा पनि घर निर्माण कार्य भइरहेको छ ।

वाड नं. ३ मा वडाका जनप्रतिनिधि साथै स्थानीयले नै कमसल सामानको प्रयोग भएको गुनासो गरेका छन् । प्रति घरमा श्रमदान सहित करिब ३ लाख ३६ हजार मूल्य बराबरको लागतमा घर निर्माण कार्य भइरहेको सहारा नेपालका प्रतिनिधि इन्जिनियर अनिल घिमिरेले बताउनुभयाे ।

बेलबारी नगरपालिकाले १ लाख ५० हजार, रु १ लाख सहारा नेपाल र ह्याविटेड नेपाल र स्थानीयको रु ३६ हजार बराबरको श्रमदानमा घर निर्माण भइरहेको छ । नगरभरी कुल रु ३ करोड ३९ लाख ९२ हजारको लागतमा १०१ वटा घर निर्माण कार्य भइरहेको घिमिरेले जनाउनुभयाे ।

घर निर्माणमा कमसल सामाग्री प्रयोग भएको स्थानीयको जनगुनासोमा घिमिरेले बालुवा गुणस्तरीय नभएको भने स्वीकार गर्नुभयाे । जनप्रतिनिधि, घर निर्माण उपभोक्ता समिति र स्थानीयसँग बसेको छलफलबाट उक्त बालुवा प्रयोग नगर्ने र फिर्ता गर्ने निर्णय गरेको उहाँले बताउनुभयाे । तर बालुवा भने जहाँको त्यही छ ।

निर्माण कार्यमा कुनै पनि कमजोरी हुन नदिन अनुगमन कार्यको लागि बेलबारी अनुगमन समितिले अनुगमन गर्ने घिमिरेले बताउनुभयाे । तर उपप्रमुख ढाका कुमारी पराजुलीले भने उक्त कार्यको लागि भनेर छुट्टै अनुगमन समिति बनाउने भनिएता पनि अहिलेसम्म आधिकारी जानकारी नआएको बताउनुभयाे ।

स्थानीयको जनगुनासो भए जस्तै वास्तवमै कमजोर सामाग्री घर निर्माण कार्यमा प्रयोग भएको हो भने, निर्माण सम्पन्न भएता पनि भत्काउन लगाएर पुन: निर्माण गर्ने वा नगरपालिकाले गर्ने भनिएको आर्थिक सहयोगको भुक्तानी नै रोकिने समेत बताउनुभयाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com