पोस्टमार्टम रिपोर्ट फरक परेको भन्दै मृतकका आफन्त र प्रहरीबीच जाजरकोटमा झडप



प्रकाशित मिति : Jun 15, 2020
  • बालकुमार शर्मा,

जाजरकोट, १ असार । पश्चिम रुकुमको सोती घटनाका मृतकको पोष्टमार्टम रिपोर्टमा चिकित्सकले बदमासी गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच जाजरकोट सदरमुकाममा झडप भएको छ ।

प्रहरीले चार राउण्ड हवाइ फायर र एक राउण्ड अश्रुग्यास प्रहार गनुका साथै लाठी चार्ज गर्दा पाँच आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा प्रहारबाट तीन जना प्रहरी घाईते भएका छन् ।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि मृत्यु भएका ६ जनाको पोष्टमार्टम रिपोर्ट तोडमोड गरिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।

झडपमा तीन प्रहरी सहित आठ जना घाइते भएका छन् । झडपमा परि स्थानीय पदम बुढा, उर्मिला विक, हजारी नेपाली, भिजन बुढा र अस्मिता सिंह घाइते भएका छन् । घाइते पदम मृतक गणेश बुढाका बुवा हुन भने उर्मिला नवराज विककी आमा हुन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । शवको प्रकृति भन्दा भिन्ने पोष्टमार्टम रिपोर्ट बनाईएको भन्दै पीडित परिवार र संघर्ष समिति चिकित्सकका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

शान्तिपूर्ण तरिकाले प्रर्दशन गर्न गएका स्थानीय माथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताउनु भयो । मृतक सवैको टाउकोमा चोट लागेको, हात, खुट्टा दाँत भाँचिएको, नाक काटिएको अवस्थामा भेटिएको थियो ।

प्रहरी मुचुल्कामा पनि उक्त विवरण उल्लेख गरिएको छ तर पोष्टमार्टम रिपोर्टमा सामान्य मृत्यु भनेर घटनालाई तोडमोड गर्न खोजिएको छ । यसैको विरोधमा हामी आन्दोलनमा उत्रन बाध्य भएका हौ संयोजक शाहले भन्नुभयो, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको छ । पीडत परिवारलाई नै कुटपिट गरिएको छ । साथीहरु घाईते हुनुभएको छ ।’

आक्रोशित स्थानीयले गरेको ढुङ्गा प्रहारबाट अस्पतालका शिसा फुटेका छन् । उनीहरुले पोष्र्टमार्टम गर्ने घरमा समेत आगो लगाईदिएका छन् । प्रहरीले आगो नियन्त्रणमा लिएको छ । अस्पतालका शिशा फुट्नुका साथै एक्सरे लगायतका स्वास्थ्य उपकरण फुटेको अस्पतालले जनाएको छ ।

भीड अनियन्त्रित भएकोले नियन्त्रणका लागि हवार फायर गर्नु परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएपी किशोर श्रेष्ठले आन्दोलनकारीको ढुङ्ग प्रहारबाट तीन प्रहरी सहित आठ जना घाइते भएको बताउनुभयो । घाइेतेको अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

गत जेठ १० गते केटी भगाउन भन्दै रुकुमको सोती गाँउ गएका जाजरकोटका नवराज सहित ६ जनाको सामुहिक हत्या भएको थियो । अन्र्तजातिय प्रेम सम्बन्धका कारण उक्त घटना भएको विभिन्न अधिकार कर्मीका भनाइ छ ।

कथित तल्लो जातको दलितले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण हुँदा ६ जनाले ज्यान गुमाएका थिए । घटनापछि जाजरकोट सदरमुकाममा दिनुहँ न्यायका लागि नाराबाजी सहित आन्दोलन भैरहेको छ ।

संसदीय समिति घटनास्थलमा

रुकुम घटनाको सत्यतथ्य छानवीनका लागि गठन भएको संसदीय छानवीन समिति जाजरकोट आईपुगेको छ । समितिका संयोजक देवेन्द्र पौडेलसहित समितिका सदस्यहरु सोमवार जाजरकोट पुगेर अध्ययन थालेका छन् ।

समितिले स्थानीय प्रशासन र सुरक्षा निकाय निकायसँग घटनाबारे हाल सम्म भैरहेका अनुसन्धान प्रक्रिया र घटनाको अवस्था बारे जानकारी लिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com