बागमती प्रदेशको बजेट ५१ अर्ब, अघिल्लो बर्षभन्दा ४ अर्ब बढी, सांसदलाई ३ करोड



प्रकाशित मिति : Jun 15, 2020
  • देवराज पन्त,

मकवानपुर, १ असार । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि सोमबार ५१ अर्ब ४२ करोड ७४ ला ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्ग्लले बजेट प्रस्तुत गर्दै चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ करोड र पूँजीगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजन गरिएको बताउनुभयो ।

यस बर्षको बजेटमा स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा बढी रकम विनियोजन गरिएको छ । बजेटमा संक्रमित रोकथामका लागि १९ करोड, स्वास्थ्य क्षेत्र सुधार २६ करोड ६८ लाख, अस्पताल सुधार ५६ करोड ३० लाख, मुख्यमन्त्री विपन्न स्वास्थ्य योजना १८ करोड ३५ लाख रहेका छन् ।

प्रस्तुत बजेटमा दूग्ध किसानका लागि प्रतिलिटर २ रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने, कृषि सहकारीको स्तरोन्नति गर्दै एक पालिका एक खाद्यान्न भण्डार, प्रदेश भित्रका प्रहरी चौकी भवन निर्माणका लागि ५५ करोड ६६ लाख रकम विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा प्रदेश भित्र स्नातक उत्तीर्ण गरेका यूवाहरुलाई न्यूनतम पारिश्रमिकसहित स्वयम्सेवकका रुपमा खटाउने समेत उल्लेख गरिएको छ । त्यस्तै प्रदेशले विद्युतीय सवारी खरीदलाई प्राथमिकतामा राखेको छ ।

प्रस्तुत बजेटमा प्रदेश सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटका विषयमा बागमति प्रदेश सभाका विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले बजेट कार्यान्यनमा शंका रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले बजेटले अपेक्षा बढी राखेको तर उपलब्धि नहुने प्रतिक्रिया दिनुभयो । बजेटमा पूर्वाधार विकास भन्दै सांसदलाई ३ करोड विनियोजन गरिनु गलत भएको विवेकशील साझा पार्टीका रमेश पौडेलले बताउनुभयो ।

त्यस्तै सांसद रिना गुरुङ्गले आफूहरुले दिएको सुझाव विपरीत बजेट आएको प्रतिक्रिया दिनुभएको छ । प्रस्तुत बजेट अघिल्लो बर्षको तुलनामा करिब ४ अर्बले बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com