नयाँ निर्देशिकाको असर : कपिलवस्तुमा लक्षण नदेखिएको भन्दै ३ सय बढी संक्रमित डिस्चार्ज



प्रकाशित मिति : Jun 15, 2020
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १ असार । संक्रमितहरुका लक्षण नेखिएको भन्दै बिना परीक्षण घर फर्काउने निर्देशिका जारी भए पछि कपिलस्तुका आइसोलेशन र क्वारेन्टाइन रित्तिदै गएका छन ।

गत जेठ २४ गते सरकारले लक्षण नदेखिएका बिरामीलाई १४ दिन आइसोलनेशनमा राखी बिना परीक्षण घर फर्काउने गरी निदेशिका जारी गरेका थियो । त्यस यता जिल्लाका पालिकाहरुमा रहेका संक्रमितलाई धमाधम त्यही निदेीशका अनुसार छाडिएको छ ।

संक्रमितलाई विना परीक्षण डिस्चार्ज गरिदा गाउँ समाजमा बढ्यो त्रास

संक्रमितहरुलाई त्यसरी बिना परीक्षण घर जान दिईदा गाउँ समाजमा त्रास बढेको छ । जिल्लाका तीन पालिकाहरुले भने पीसीआर परीक्षण नगरी घर फर्कन नदिने घोषणा गरेका छन ।

गत जेठ २४ गते सम्म पुरानो निर्देशिका अनुसार संक्रमितहरुलाई दोश्रो र तेश्रो परीक्षण नेगेटिभ आए पछि मात्र घर जान दिने गरिएको थियो । सो नियम अनुसार जिल्ला र जिल्ला बाहिर रहेको आइसोलेसनबाट ५२ जनालाई निको भई घर फर्काइएको थियो ।

जेठ २५ गते यता नयाँ निर्देशिका अनुसार संक्रमितहरुलाई पालिकाहरुले घर जान दिने गरेको स्वास्थ्य कार्यालयले जाएको छ ।

सबै स्थानीय तहका आइसोलेसनहरु रित्तिदै

आईतवारसम्म जिल्लाका बिभिन्न आइसोलेशनमा रहेका ३ सय ३३ जनालाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । जिल्लामा भेटिएको ६ सय ४६ संक्रमित मध्ये अब केवल २ सय ८७ जना मात्र आइसोलेसनमा बाँकी छन ।

जिल्लाका सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको यशोधरा गाउँपालिकाको आइसोलेशनमा समते अब खाली हुने अवस्थामा छ । त्यहाँबाट १ सय ४३ जना डिस्चार्ज भै सकेका छन ।

अब त्यहा केवल १५ जना संक्रमित छन । यस्तै महराजगंज नगरपालिकामा ५० जना डिस्चार्ज भई हाल ७० जना मात्र छन । यस्तै बिजयनगरमा १७, कपिलवस्तु नगरपालिकामा १८, कृष्णगनरमा २६, मायादेबीमा २२, शिवराज २९, डिस्चार्ज भएका छन ।

संक्रमण झनै फैलन सक्ने स्थानीय तहका पदाधिकारीको गुनासो

महाराजगञ्ज नगरपालिका मेयर अब्दुल कलाम खाले नया निर्देशिका जारी गरी सरकारले नै हात उठाए पछि आफूहरुले मात्र के नै गर्न सक्ने गुनासो गर्नुभयो ।

‘सरकारले हामीलाई भिटिएम किट समते दिन नसके पछि आफै किनेर स्वाब संकलन गर्यौ, तर एक महिना सम्म पनि रिपार्ट नआउँदा झनै समस्या झेल्न परेको छ’ उहाँले भन्नुभयो ।

बिना परीक्षण संक्रमितहरुलाई घर जान दिएर गलत गरिएको भन्दै यो निर्णयले संक्रमण फैलन सक्ने खतरा रहेको बताउनुभयो । ‘हामीले जसोतसो क्वारेन्टाइन र आइसोलनेको ब्यवस्थापन गरेका छौ तर सरकारले नै जनताको स्वास्थ्यसंग खेलवाड गरको छ’ उहाँले भन्नुभयो ।

निर्देशिका जारी भएसंगै स्वाब संकलन र आरडीटी टेष्ट सुस्त

नयाँ निर्देशिका जारी भए यता स्वाब संकलन र आरडीटी टेष्ट समेत सुस्त भएको छ । जिल्लामा सोमवार सम्म ७ हजार ५३ स्वाब संकलन भएकामा अब केवल ६ सय ६९ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै ११ हजार ८८५ आरडीटी गरिएकोमा १ हजार ३ सय ९२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । क्वारेन्टाइनमा पनि अब केवल १ हजार ५८ जना मात्र छन ।

नयाँ निर्देशिका अनुसार बिरामीलाई छाडिए अबको दुई साता भित्र आइसोलेसन पूरै खाली हुने देखिएको छ । जिल्लाका पालिकाहरुमा ७ सय ९४ आईसोलेशन बेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com