रौतहटमा संक्रमित ८६९ पुगे, भीडभाड हुने कार्यालयबाट तत्काल सेवा प्रवाह नगरिने



प्रकाशित मिति : Jun 15, 2020
  • बालबिक्रम कार्की,

रौतहट, १ असार । रौतहटमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । जिल्लामा सोमबार थप ९८ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ६९ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गौरका अनुसार सोमबार पुष्टि भएकाहरुमा इशनाथ नगरपालिकामा ३३ जना, यमुनामाई गाउँपालिकामा ४७ जना, राजपुर नगरपालिकामा ८ जना, राजदेवी नगरपालिकामा ९ जना र फतुवा बिजयपुर नगरपालिकामा १ जनामा रहेका छन् ।

पुष्टि भएका सबैजना हालसालै रोजगारी गरेर भारतबाट फर्किएर सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । संक्रमित पुष्टि भएकाहरुमध्ये केही बालबालिका पनि रहेका छन् ।

संक्रमित रहेका सबैको स्वास्थ्य अवस्था सामान्यनै रहेको र उनीहरुको जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको भीडभाड रहने कार्यालयबाट तत्काल सेवा प्रवाह नहुने जनाएको छ ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असार १ गतेदेखि दुई सिफ्ट गरेर सरकारी कार्यालय खुल्ने जनाएपनि जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत तथा नापी कार्यालयको सेवा प्रवाह नगर्ने जनाएको हो ।

यी कार्यालयमा सेवाग्राहीहरुको भीडभाड रहने हुँदा कोरोना भाइरसको उच्च जोखिम रहने भएकाले तत्काल सेवा प्रवाह नगर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।

जिल्लामा संक्रमितको संख्दा दिनानुदिन बढ्दै गएको र यी कार्यालयहरु सेवाग्राहीले भरिभराउन हुने कार्यालयहरु भएकाले तत्काल नखोल्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भएको आदेश बमोजिम अर्को आदेश नभएसम्मको लागि सेवाग्राहीको अत्याधिक भीडभाड हुने कार्यालयबाट तत्काल सेवा प्रवाह नहुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्लामा रहेका पसलहरु तथा बैंक तथा वित्तीय संस्थाहरु भने उच्च स्वास्थ्य सुरक्षा अपनाएर सामाजिक दूरी कायम गर्दै खोल्न दिने स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com